२३ वैशाख २०८१, आइतवार

एउटै फार्मबाट रु. तीन करोडको केरा बिक्री

२९ कार्तिक २०८०, बुधवार
Image

झापा, २९ कात्तिक । विदेश भासिनुभन्दा स्वदेशमै पसिना बगाउनु राम्रो भन्ने सकारात्मक सोच बोकेर झापाका पाँच जना युवाले एक वर्षअघि रु. पाँच करोडको लगानीमा सुरु गरेको व्यावसायिक केरा खेतीले आशलाग्दो आम्दानी दिन थालेको छ ।

भद्रपुर–५ मा २० बिगाहा र गौरादह–५ मा ५७ बिगाहा गरी ६७ बिगाहा जग्गा भाडामा लिएर बासुदेव उप्रेती, कमल थापा, प्रेम खड्का, प्रकाश निरौला र दारोगा जैसवालले श्रीगणपति एग्रिकल्चर प्रालिमार्फत केरा खेती गर्नुभएको हो ।

दुबै फार्ममा रोपिएका केराका बोटहरु लहलह भएर फस्टाएका छन् । भद्रपुरको खेतबाट एक सिजनको उत्पादन चाडवाडकै अवसरमा बजारमा पुगिसकेको छ भने गौरादहको उत्पादन चाँडै बजार लैजाने तयारी भइरहेको कम्पनीका अध्यक्ष बासुदेब उप्रेतीले बताउनुभयो ।

उहाँका अनुसार भद्रपुरको केराखेतीमा दशैं र तिहारको सिजनमा २८ हजार घरी केरा पाकेको थियो । ती सबै काठमाडौं, वीरगञ्ज, चितवन र पोखराको बजारमा विक्री भइसकेको छ । बजारमा औसत रु. एक हजार २०० प्रति घरीको दाममा केरा बिक्री भएको छ । फार्ममा फलेका सबै केरा कम्पनी आफैले बजारमा पुर्याएर विक्री गरेको हो ।

भद्रपुरको फार्मबाट मात्र रु. तीन करोड ३६ लाखको पाकेको केरा विक्री भएको अध्यक्ष उप्रेतीको भनाई छ । “उत्पादन सुरु भएको पहिलो वर्षमै भद्रपुरको खेती नाफामा गयो,” खेतीबाट उत्साहित अध्यक्ष उप्रेती भन्नुहुन्छ–“अर्को सिजनदेखि अझ धेरै नाफा पाउने आशा जागेको छ । पहिलो सिजनको बजारिकरणमा कतिपय कमजोरी भए । तिनलाई सुधारेर आउँदो सिजनमा धेरै फाइदा गर्ने कम्पनीको योजना छ ।”

भद्रपुर–५ मा रहेको केराफार्मको जग्गा जिल्लाकै पुरानो भद्रपुर गौशालाको स्वामित्वमा रहेको छ । उक्त जग्गा वार्षिक रु. पाँच लाख भाडा तिर्ने सम्झौतामा लिइएको हो भने गौरादहमा धेरै व्यक्तिहरुको निजी जग्गा एकमुष्ठ रुपमा वार्षिक रु. १० लाख भाडा तिर्ने शर्तमा कम्पनीले लिएको हो । 

उहाँका अनुसार भद्रपुरको फार्ममा ३० हजार र गौरादहमा ८० हजार केराको बोट हुर्किएका छन् । ‘जी नाइन’ नामक उन्नत जातको केराको बिरुवा टिस्युकल्चर प्रविधिबाट नर्सरीमा उमारिएको हो । विरुवा खरिदमा प्रति बिरुवा रु. ३५ सम्म लागत लागेको छ ।

वीरगञ्ज, खुदुनाबारी र गौरीगञ्जमा टिस्युकल्चर प्रविधिबाट केराको बिरुवा उमार्ने नर्सरी रहेका छन् । कम्पनीले तिनै नर्सरीबाट विरुवा किनेको हो । एकपटक हुर्काइएको बिरुवाले पाँच वर्षसम्म नयाँ विरुवा उमारेर निरन्तर उत्पादन दिइरहने बताइएको छ ।

गौरादहको फार्ममा हाल केराको बोट पाक्न लागेका छन् । उन्नत जातको यो केराको बोट नौ महिनामा पसाउन थाल्ने र एक वर्षभित्रै पाक्ने गर्दछ । ठूला घरी र पोटिला कोसा धेरै हुने भएकाले यसले सजिलै बजार पाउने गरेको अर्का सञ्चालक कमल थापाको भनाई छ । 

केराखेतीमा लागेका युवाहरुमध्ये जैसवाल विर्तामोडको कृषि थोक बजारका ४० वर्षदेखिका अनुभवी व्यापारी हुनुहुन्छ । उहाँमा कसरी बजारिकरण गर्ने भन्ने विषयमा ज्ञान भएकाले केरा विक्रीमा सहज भएको थापा बताउनुहुन्छ । पहिलो खेती भएकाले कतिपय कठिनाईहरु भने झेल्नु परिरहेको थापाले बताउनुभयो ।

यति ठूलो लगानीमा केराखेती गरे तापनि श्रीगणपति एग्रिकल्चर प्रालिले सरकारका तर्फबाट कुनै अनुदान र प्रोत्साहन पाउन सकेको छैन । “कुलिङ च्याम्बर नहुँदा पहिलो सिजनमा पाकेको केरा बजारमा विक्री भइनसक्दै बिग्रिएर नष्ट हुने समस्या झेल्नुपर्यो,” कम्पनीका अध्यक्ष उप्रेती खेतीका अनुभव सुनाउँदै भन्नुहुन्छ–“हामीलाई सबैभन्दा पहिला पाकिसकेका केराका घरीहरुलाई टिकाउन कुलिङ च्याम्बर चाहिएको छ ।”

झापाको उत्पादनलाई काठमाडौंको बजारसम्म पुर्याउन तीन दिनसम्म लाग्ने र ढुवानीमा प्रति गाडी रु. ५० हजारसम्म भाडा लाग्ने भएकाले ढुवानीको गाडी पनि आवश्यक परेको उहाँले जानकारी दिनुभयो । सरकारले लागत सहभागितामा कुलिङ च्याम्बर र ढुवानीको गाडी खरिदमा अनुदान दिए व्यवसायमा मदत पुग्ने उहाँको भनाई छ ।

भारतीय बजारबाट सस्तो दाममा भित्रिने केराले स्वदेशी उत्पादनलाई बजारमा ठूलो चुनौति खडा गरेको कृषकहरुको अनुभव छ । भारतीय केराको आयात रोकिदिने हो भने स्थानीय उत्पादनले बजार र मूल्य दुबै पाउने उनीहरु बताउँछन् । 

स्वदेशमै रोजगारी सिर्जना गर्ने र कृषिमा प्रोत्साहन गर्ने सरकारको कार्यक्रम भए तापनि वास्तविक किसानहरुले मल, बीउ, सिञ्चाई, उपकरण र बजारिकरणमा अनुदान पाउन नसक्नु दुःखलाग्दो विडम्बना भएको कम्पनीका सञ्चालक प्रकाश निरौला बताउनुहुन्छ । 

चालीस वर्षदेखि विर्तामोडमा व्यापार गर्दै आउनु भएको दारोगा जैसवाल भारतबाट कृषि प्राविधिक ल्याएर केराखेतीमा लगाउनु परेको बताउनुहुन्छ । सरकारले सिञ्चाईका लागि पाइपहरु र रासायनिक मलखाद बेलैमा चाहिए जति अनुदानमा पाउने हो भने नेपाली युवाले रोजगारी खोज्दै खाडी मुलुक गइरहनु नपर्ने उहाँको भनाई छ ।

भद्रपुर गौशालाका एक सयभन्दा बढी गाईबस्तु पालिएको हुँदा त्यहीको गोबर खरिद गरेर मलखादको समस्या केही हदमा टरेको भए तापनि रासायनिक मलको सँधै अभाव रहेको जैसवालले जानकारी दिनुभयो । 

“कृषि, कृषि भनेर सरकारले चर्को स्वरमा भनेको भन्यै गरेको सुनिन्छ, यहाँ हामीले केही पाएकै छैन,” जैसवाल गुनासो सुनाउँदै भन्नुहुन्छ–“हामीलाई कृषि उपकरण चाहिएको छ । दुईवटा ट्याक्टर चाहिएको छ । डेलिभरि गर्न गाडी चाहिएको छ । सिञ्चाईका लागि पाइप चाहिएको छ । केही अनुदान दिन्छौं, लैजाउ भनेर सरकारले भन्दैन ।”–––


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।