२४ वैशाख २०८१, सोमवार

ज्येष्ठ नागरिकहरुलाई सभामुखले बाँडे लौरौ

३ मंसिर २०८०, आइतवार
Image

झापा, ३ मङ्सिर । सभामुख देबराज घिमिरेले ज्येष्ठ नागरिकहरुको सम्मानमा राज्यले कुनै कञ्जुस्याइँ गर्न नहुने बताउनुभएको छ ।

आज गृहजिल्ला झापाको बिर्तामोडमा एक सय पचास ज्येष्ठ नागरिकलाई लौरो वितरण गर्न आयोजित समारोहमा बोल्दै उहाँले उक्त धारणा व्यक्त गर्नुभएको हो ।

“ज्येष्ठ नागरिकहरु सबैको साझा अभिभावक हुनुहुन्छ,” सभामुख घिमिरेले भन्नुभयो–“उहाँहरुको सम्मान जरुरी छ । राज्यले कुनै कञ्जुस्याई गर्न हुँदैन ।”

जीवनको उर्वर उमेरमा आफ्नो समय, श्रम र शिप सबै मुलुकका लागि दिनुभएका ज्येष्ठ नागरिकहरु बुढेशकालमा अपहेलित हुने गरेको भन्दै उहाँहरुलाई सामाजिक सुरक्षामा कुनै कमी आउन नदिन सभामुख घिमिरेले सरकारलाई आग्रह गर्नुभयो ।

विर्तामोड नगरपालिकाको सभाहलमा आयोजित सो कार्यक्रममा सभामुख घिमिरेले विर्तामोड र कनकाई नगरपालिकाका १५० जना वृद्धवृद्धालाई निःशुल्क लौरो वितरण गर्नुभयो ।

बुढेशकालको सहाराका लागि लौरो वितरण गरिएको सभामुख घिमिरेले सो अवसरमा बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकहरुलाई ढाका टोपी र मजेत्रो समेत वितरण गर्नुभएको थियो ।

“नेतृत्वले कुनै गल्ती गरे भने खबरदारी गर्नुहोला,” उहाँले ज्येष्ठ नागरिकहरुलाई भन्नुभयो । लौरो पाएका ज्येष्ठ नागरिकहरुलाई यातायात खर्च समेत उपलब्ध गराइएको विर्तामोडका उपप्रमुख नगेन्द्र संग्रौलाले जानकारी दिनुभयो । उहाँका अनुसार सभामुखको सचिवालयको समन्वयमा अर्जुनधारा र बुद्धशान्तिमा समेत लौरो वितरण गरिने कार्यक्रम रहेको छ ।

ज्येष्ठ नागरिकहरुलाई वितरण गरिएको लौरो सभामुख देबराज घिमिरेको सचिवालयले उपलब्ध गराएको र टोपी तथा मजेत्रो विर्तामोड नगरपालिकाकाले आफ्नै स्रोतबाट जुटाएको उपप्रमुख संग्रौलाले बताउनुभयो । लौरोमा रु. एक लाख ५० हजार, टोपीमा रु. २४ हजार र मजेत्रोमा रु. २५ हजार खर्च भएको बताइएको छ ।