२१ वैशाख २०८१, शुक्रवार

निष्ठा र त्यागका उदाहरण पीएन सरको निधन

११ मंसिर २०८०, सोमवार
Image

झापा, ११ मङसिर । प्रजातन्त्र सेनानी पूर्णानन्द शर्मा दाहाल (पीएन सर)को ८८ वर्षको उमेरमा आज निधन भएको छ । उहाँ प्रजातन्त्रका लागि जेलनेल भोगेको संघर्षशील, निष्ठावान र त्यागी नेताको रुपमा परिचित हुनुहुन्थ्यो ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उहाँको आज अपराह्न ४ बजेर ३० मिनेटमा उपचारको क्रममा विर्तामोडको पूर्णटुंग बिर्तासिटी अस्पतालमा निधन भएको बताउनु भयो । उहाँ लामो अवधिदेखि मुटु र फोक्सोको विरामी हुनुहुन्थ्यो । प्रजातान्त्रिक योद्धा शर्माको सम्पूर्ण उपचार बिर्तासिटी अस्पतालले निःशुल्क गरिदिएको थियो ।

स्व। पूर्णानन्द शर्मा राजनीतिज्ञ, शिक्षक र साहित्यकारको रुपमा लोकप्रिय हुनुहुन्थ्यो । उहाँ पञ्चायती शासनकालमै वि.सं. २०३७ देखि २०४३ सम्म नेपाली कांग्रेसको झापा जिल्ला कार्य समितिको सभापति हुनुहुन्थ्यो । कांग्रेसका संस्थापक नेता वीपी कोइराला र समाजबादी चिन्तक सीके प्रसाईका समकालीन नेता शर्माले प्रजातान्त्रिक आन्दोलनका क्रममा पाँच वर्ष जेल, तीन वर्ष निर्वासन र नजरबन्द भोग्नु भएको थियो । 

उहाँका दुई छोरा प्रमोद र विनोद शर्मा रहेका छन् भने दुई छोरी छन् । उहाँकी पत्नीको दुई वर्ष अघि कोभिड-१९ को संक्रमणका कारण निधन भएको थियो ।

स्व. शर्मा नेपाली कांग्रेसमा वि.सं. २०१५ सालदेखि नै आवद्ध हुनुहुन्थ्यो । उहाँ तेह्रथुमको आठराईस्थित एक विद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो । अंग्रेजी भाषा र साहित्यमा दख्खल राख्नुहुने उहाँको साहित्यिक पुस्तक समेत प्रकाशित रहेका छन् ।

“नेपालको प्रजातान्त्रिक आन्दोलनमा संघर्ष, त्याग र निष्ठाका प्रतिमूर्तिको रुपमा उहाँको योगदान सँधै स्मरणीय रहनेछ,” महामन्त्री शर्माले भन्नुभयो–“उहाँको आज निधन भयो । उहाँ दुईवटा बैशाखी टेकेर हिँड्नुहुन्थ्यो, तर पार्टी, लोकतन्त्र र गणतन्त्रप्रति उहाँको निष्ठा कहिल्यै डगमगाएन । पार्टीका तमाम कार्यकर्ता आज अभिभावक गुमाउँदा स्तब्ध भएका छन् ।”

उहाँको पार्थिव शरीरलाई आज साँझ अस्पतालबाट निवासमा लगिएको र मंगलवार कनकाई आर्यघाटमा पार्टीको सम्मानसहित अन्तिम संस्कार गरिने नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले बताउनुभयो ।

नेपाली कांग्रेस झापाले शर्माको निधनप्रति गहिरो शोक व्यक्त गर्दै मंगलवार पार्टीको जिल्ला कार्यालयसहित सबै पालिका र वडाका कार्यालय बन्द हुने र पार्टीले तय गरेका सबै कार्यक्रम स्थगित गरिएको उहाँले जानकारी दिनुभयो । पार्टीका कार्यालयहरुमा मंगलवार पार्टीको झण्डा आधा झुकाइने समेत उहाँले बताउनुभयो ।