२२ वैशाख २०८१, शनिवार

‘लुम्बिनीका अभिभावक’ भन्दै बालकृष्ण खाँण सम्मानित

१७ मंसिर २०८०, आइतवार
Image

झापा, १६ मंसिर । नेपाली कांग्रेसले भ्रष्टाचार आरोपमा थुनामा परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई लुम्बिनी प्रदेशका अभिभावक भन्दै सम्मान गरेको छ ।

खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुना छन् । उनलाई पार्टीले निलम्बन समेत गरेको छैन । बरु धरौटीमा नछुट्दै सम्मान गर्न थालेको छ ।

कांग्रेसको लुम्बिनी प्रदेश समितिको प्रदेश सम्मेलन शनिबार बुटबलमा खाँणलाई सम्मान गरिएको हो ।

सम्मान गरिदा मञ्चमा पार्टीका सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अतिथि रहेका थिए ।

कार्यक्रममा सञ्चालक कांग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले खाँण लुम्बिनी प्रदेशको अभिभावक भएको बताए । 

‘आदरणीय हाम्रा नेता, राजनीतिक रुपमा यस प्रदेशका अभिभावक, आर्थिक रुपमा राजनीतिक रुपमा जहिले पनि अभिभावकत्व निर्वाह गने दाजु आज हाम्रा सामु हुनुहुन्न बालकृष्ण खाँणज्यू, उहाँको सम्मानपत्र ग्रहण गरिदिनुहुन उहाँका भाइ एवं यस जिल्लाका पार्टी सभापति रामकृष्ण खाँणज्यूलाई हार्दिक अनुरोध गर्दछु’ उनले भने ।

सम्मानपत्र लिन बालकृष्णका भाइ रामकृष्ण मञ्चमा गएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले खाँणलाई सम्मानपत्र प्रदान गरे भने केन्द्रीय सदस्य शेखर कोइरालाले रामकृष्ण खाँणलाई खादा ओढाए ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाँण गत वैशाख २७ गते पक्राउ परेका थिए भने असार १ गते जिल्ला अदालत काठमाडौंबाट पुर्पक्षका लागि थुनामा गएका थिए । पक्राउ गरेसँगै खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठेको थियो । पुर्पक्षका लागि थुनामा गएपछि साउनमा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापासहितका केही नेताले निलम्बनको माग गरेका थिए ।

तर कांग्रेसले निलम्बन गरेन । पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध खाँणले गरेको पुनरावेदन निवेदनमा शुक्रबार उच्च अदालत, पाटनमा संयुक्त इजलासका न्यायाधीशबीच राय बाझियो । अब तेस्रो न्यायाधीशको इजलासमा खाँणको मुद्दा जाँदैछ ।