१६ वैशाख २०८१, आइतवार

विक्री नहुँदा एक करोड केजी चिया उद्योगमै थन्कियो

२२ मंसिर २०८०, शुक्रवार
Image

झापा, २२ मङ्सिर । कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया विक्री नहुँदा समस्या भएको छ । विगत छ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड केजी चिया गोदामै थन्किएको चिया व्यवसायीहरुले बताएका छन् । 

इलाम र झापाका व्यवसायीहरुका अनुसार करिब ५१ लाख केजी अर्थोडक्स चिया र ५० लाख केजी बढी सिटीसी चिया उद्योगको गोदाममा थन्किएको छ । भारतले समयमै चियाको मूल्य निर्धारण नगरिदिँदा र अन्तर्राष्ट्रिय बजारमा पुर्याउने पहुँच नहुँदा यति ठूलो मात्रामा चिया गोदामै थन्किएको उनीहरुको गुनासो छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुधबार विर्तामोडमा आयोजना गरेको स्थानीय, प्रदेश सरकार एवम् सरोकारवालाहरु संलग्न चिया सम्बन्धी अन्तरक्रिया कार्यक्रममा चिया व्यवसायीहरुले सरकारले चियाको समस्यामा उचित ध्यान नदिँदा यस्तो समस्या आएको गुनासो गरेका हुन् । 

झापाका चिया उद्योगी जेपी शर्माले १३ वटा उद्योगले उत्पादन गरेको करिब ५० देखि ६० लाख केजी सीटीसी चिया असोजदेखि गोदामै थन्किएको बताउनुभयो । उहाँले चिया विक्री नहुँदा मजदूरलाई समेत समयै पारिश्रमिक दिन नसकेको बताउनुभयो । उहाँले चिया उद्योगी व्यवसायीको संरक्षणमा सरकार उदासिन देखिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “सरकारले अक्सन सेन्टर मात्र स्थापना गरिदिएको थियो भने हाम्रो चिया ब्रोकरमार्फत विश्व बजारसम्म पुग्थ्यो । यो समस्या आउने थिएन ।”

यसैगरी, ग्रीनहिल टि–इण्डस्ट्रिज इलामका प्रोपाइटर गोपाल दाहालले कोशीका १७० वटा साना ठूला उद्योगले उत्पादन गरेको अर्थोडक्क चिया विक्री नभएको बताउनुभयो । उहाँका अनुसार हाल प्रत्येक उद्योगमा ३० हजार केजीका दरले तयारी चिया थन्किएको छ । 

चिया तथा कफी विकास बोर्डका प्रवक्ता डा. दिपक खनालले नेपालमा सीटीसी चियाको ५० प्रतिशत खपत हुने र बाँकी भारत निर्यात हुने गरेको बताउनुभयो । उहाँले सीटीसी चिया आधा खपत हुने मुलुकमा अर्थोडक्स चिया भने १० प्रतिशत मात्र खपत हुने र ९० प्रतिशत भारतलगायत तेस्रो देश निर्यात हुने गरेको जानकारी दिनुभयो । सीटीसी चियाको तुलनामा अर्थोडक्स चिया महंगो हुने हुँदा मुलुकमा कम खपत हुने गरेको उहाँको भनाई छ ।

चिया व्यवसायी रामचन्द्र उप्रेतीले चियाको गुणस्तर मापन गर्न सरकारले क्वाटिली टि टेस्टर स्थापना गर्ने, नेपालमा उत्पादित चियाको गुणस्तर बारे जानकारी गराउन सूचना केन्द्र स्थापना गर्न सके तेस्रो मुलुक चिया निर्यातमा सहज हुने बताउनुभयो ।