१७ वैशाख २०८१, सोमवार

बिक्रीमा गिरावट आउँदा डेरीमा थुप्रियो घिउ

२४ मंसिर २०८०, आइतवार
Image

झापा, २४ मङ्सिर । दुग्धजन्य उत्पादनको बिक्रीमा गिरावट आउँदा घिउको ठूलो मात्रा डेरी उद्योगमा थुप्रिएको छ । समस्या समाधानका लागि सरकारले नौनी घिउलाई भारत र बंगलादेश निकासीका लागि वातावरण बनाउनु पर्ने व्यवसायीहरुको माग छ ।

कोशी प्रदेशका दुई ठूला डेरी उद्योगहरु रितिका डेरी उद्योग र एनएमसी डेरी उद्योगले आफ्नो चिस्यान केन्द्रमा ५० हजार केजी नौनी घिउ थुप्रिएको जनाएका छन् । बिगत नौ महिनादेखि विक्रीमा गिरावट आएको हो । 

उत्पादन विक्री नहुँदा ग्रामीण क्षेत्रका किसान समेत मारमा परेका छन् । किसानहरुले बेलैमा दुधको भुक्तानी उद्योगबाट पाउन छाडेका छन् भने दुधको मूल्य घटेको छ । दुधको बिक्रीमा समस्या आएपछि कोशी प्रदेश डेरी एसोसिएसनले प्रदेशभर कच्चा दुधको मूल्य प्रति लिटर रु. १० का दरले घटाएको छ । डेरी उद्योगहरुले सातामा कम्तीमा एक दिन ‘मिल्क होलिडे’ समेत गर्न थालेका छन् । यसको सोझो असर दुध उत्पादन किसानलाई परेको छ ।

“उत्पादन बढेको बढ्यै र विक्री चाहिँ घटेको घट्यै भएकाले सबै डेरी उद्योगहरु संकटमा फँसेका हुन्,” नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष राजन चिमरिया भन्नुहुन्छ–“भारत र बंगलादेशमा निकासीको वातावरण बनाइयोस् भनेर हामीले सरकारलाई दवाव दिइरहेका छौं ।”

भारत र बंगलादेशमा नेपाली दुध, नौनी घिउ र छुर्पीको बजार रहेको जनाउँदै उपाध्यक्ष चिमरियाले सरकारले अनुदान दिएर भए पनि दुग्धजन्य उत्पादनलाई विदेश निकासीको बाटो खोल्नु पर्ने बताउनुभयो । बिगतमा भारतमा दुध र छुर्पी निर्यात हुने गरेको थियो ।

कोशी प्रदेश सरकारबाट घिउ, पाउडर दुध र छुर्पीको विदेश निकासीका लागि घाटापूर्ति अनुदान दिने प्रतिबद्धता आएको जनाउँदै यो प्रतिवद्धता कार्यान्वयनमा आएपछि डेरी उद्योगमा हाल उत्पन्न भएको समस्या समाधान हुने उहाँले बताउनुभयो ।

चिमरियाले झापाको मेचीनगर–१२ मा सञ्चालन गरेको रितिका डेरी उद्योगमा अहिले ३० हजार केजी नौनी घिउ थुप्रिएको छ । उहाँको डेरीमा हाल २२ हजार लिटर कच्चा दुध दैनिक खपत हुने गरेको छ । संकलित कच्चा दुधलाई प्रशोधन गरेर प्याकेटमा विक्री गरिदै आएको छ । दुध बाहेक नौनी र खारेको घिउ, छुर्पी, पनिर र मिठाइहरु उत्पादन गरेर उद्योगले बजारमा लैजाँदै आएको उहाँले बताउनुभयो ।

चिमरिया परिवारले रु. २५ करोड लगानी गरेर स्थापना गरेको उक्त उद्योगमा ८६ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् भने गाईपालन गरिरहेका पाँच हजार ५०० किसानहरु जोडिएका छन् । उद्योगका साना र ठूला गरेर कोशी प्रदेशभर एक हजार ५०० वटा विक्री कक्ष रहेका छन् ।

विक्रीमा मन्दी आउँदा किसानहरुलाई दिइने दुधको नियमित भुक्तानीमा समेत असर परेको छ । रितिका डेरीले बिगतमा आधा महिनामै किसानको भुक्तानी गर्दै आएकोमा हाल एक महिनादेखिको भुक्तानी हुन सकिरहेको छैन । किसानहरुको रु. पाँच करोड भुक्तानी गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

दैनिक १५ हजार लिटर कच्चा दुध संकलन गर्दै आएको मेचीनगर वडा नं. ८ स्थित एनएमसी डेरी उद्योगमा पनि १५ हजार केजी नौनी घिउ थुप्रिएको उद्योगले जनाएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)द्वारा सञ्चालित भएकाले किसानको दुधको मूल्य चाहिँ नियमित तोकिएकै समयमा भुक्तानी दिइरहेको उद्योगले जनाएको छ ।

आठ वर्ष अघि सहकारीको रु. १५ करोड लगानीमा यो डेरी स्थापना भएको थियो । उद्योगमा छ हजार ५०० किसान जोडिएका छन् । उद्योगले प्रशोधित दुध, दही, नौनी र खारेको घिउ, पनिर, मिठाइलगायतका बस्तुहरु उत्पादन गर्दै आएको छ ।

“उत्पादनहरु विक्री नहुँदा समस्या आउने नै भयो,” एनएमसी डेरी उद्योगका व्यवस्थापक नवराज अधिकारी भन्नुभयो–“घिउको विक्री बढाउन प्रयास गरिरहेका छौं । विक्री बढ्न थालेको पनि छ ।” दुबै उद्योगले घिउको विक्री बढाउन मूल्य घटाएका छन् । 

बिगतमा प्रति केजी रु. ९०० सम्ममा विक्री भएको नौनी घिउ अहिले रु. ७५० मा झरेको छ । एनएमसी डेरीले हालै रु. ७०० प्रति केजीका दरले समेत सर्वसाधारणलाई घिउ विक्री गरेको थियो ।

रितिका डेरी उद्योगले दुध संकलनकर्ता साना व्यवसायीहरुलाई समेत घिउ दिएर गाउँमा विक्री गर्न पठाउने गरेको छ भने एनएमसी डेरीले ठूलो संख्यामा रहेका आफ्ना कर्मचारीहरुलाई सहुलियत अफरमा घिउ किन्न प्रोत्साहित गरिरहेको छ ।