२३ भदौ २०८१, आइतवार

नागरिकको आक्रोश नेताको भ्रष्ट प्रवृत्तिविरुद्ध : कृष्ण पहाडी

२५ मंसिर २०८०, सोमवार
Image

विर्तामोड, २५ मङ्सिर । वरिष्ठ मानवाधिकारबादी नेता कृष्ण पहाडीले नागरिकहरुको आक्रोश नेताहरुको भ्रष्ट प्रवृत्तिप्रति लक्षित रहेको बताउनुभएको छ ।

उहाँले आज दिउँसो ‘लोकतन्त्रको प्राण : सुशासन र सद्भाव’ विषयक नागरिक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेताहरुको खराब क्रियाकलापको अपजस लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई दिन नहुने बताउनु भयो । 

जनान्दोलन, माओबादी जनयुद्ध र मधेश आन्दोलनको बलमा स्थापित अहिलेको व्यवस्था फेरिने कुनै सम्भावना नरहेको समेत उहाँले बताउनुभयो ।

उहाँले दलका नेताहरु कुशासन र भ्रष्टाचारका लागि जिम्मेवार भएको दावी गर्दै व्यवस्था फेर्न होइन, दलका नेता फेर्नका लागि निडर भएर अभियान चलाउन सचेत नागरिकलाई आग्रह गर्नुभयो ।

उहाँले प्रदेश नामाकरणको विरोधमा आन्दोलन गरिरहेका पहिचानबादी शक्तिहरुलाई बहिष्कार र हिंसाको बाटो त्याग्न आह्वान गर्नुभयो । हिंसा र बहिष्कारको बाटो अपनाएमा पहिचानविरोधीलाई नै फाइदा पुग्ने उहाँले चेतावनी दिनुभयो । 

अन्तरक्रियाबाट तीन बुँदे ‘नागरिक संकल्प’ पारित भएको थियो । संकल्पको बुँदाहरुमा भ्रष्टाचार र दण्डहिनता अन्त्य गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहितको सुशासन कायम गरिनुपर्ने, मानव अधिकारको हनन र सामाजिक सद्भावमाथिको प्रहार क्षम्य नहुने र पहिचानको विषयलाई लिएर उठेको आन्दोलनलाई संवादबाटै समाधान गर्न सहमति हेतु अब नागरिक समाजले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख छ ।

मानवाधिकार समाज झापाकी अध्यक्ष सुशिला रिजालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, नेकपा एमाले झापाका सचिव शिव ढुंगेल, आदिबासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी, मानवाधिकारकमी रुपक खनाल, युवा नेतृ उमा शिवाकोटी, राधा सुब्बा, टिकेन्द्र खनाल, तेजप्रसाद चौलागाई लगायतले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।