८ कार्तिक २०८१, बिहिवार

राजतन्त्रका पछि कुद्नु दास मानसिकता हो : कृष्ण हुमागाई

२५ मंसिर २०८०, सोमवार
Image

झापा, २५ मंसिर । नेपाली कांग्रेस झापाका सचिव तथा तथा युवा नेता कृष्ण हुमागाईले लोकतन्त्रविरुद्ध चलखेल गर्ने प्रतिगामी शक्तिलाई एक ढिक्का भएर परास्त गरिने दृढता व्यक्त गर्नु भएको छ ।

उहाँले मानव अधिकार तथा शान्ति समाज झापाले आज विर्तामोडमा आयोजना गरेको नागरिक छलफल कार्यक्रममा बोल्दै उक्त धारणा राख्नु भएको हो ।

‘लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो,’ कांग्रेसका जिल्ला सचिव हुमागाईले भन्नुभयो–‘हुकुम प्रमांगीका आधारमा सत्ता चलाउने निरंकुश राजतन्त्र ठिक छ भनेर कुद्नु भनेको दास मानसिकता हो ।’

उहाँले लोकतन्त्र भन्दा राम्रो राजनीतिक व्यवस्था संसारमै नभएको बताउँदै भन्नुभयो–‘कसैले लोकतन्त्रभन्दा राम्रो राजनीतिक व्यवस्था कुनै देखाइदिन सक्नुहुन्छ भने म कांग्रेस पार्टीको सदस्यता त्यागेर त्यही व्यवस्थाको प्रचारमा लाग्न तयार छु ।’

लोकतन्त्रमा नेताले गल्ती गरे भने तिनलाई हटाएर अर्को नेतालाई सत्तामा ल्याउन सकिने विकल्प हुने स्पष्ट पार्दै पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा प्रेसमा एके फोर्टी सेभेन राइलफलधारी सेना पठाएर सेन्सरसीप लागू गरेको नभुलेको बताउनुभयो ।

‘प्रचण्डले राम्रो काम गर्नुभएन भने शेरबहादुर आउन सक्नु हुन्छ, उहाँले पनि राम्रो गर्नुभएन भने केपी ओली आउनुहोला,’ उहाँले भन्नुभयो–‘तर, लोकतान्त्रिक व्यवस्थाको विकल्प अहिले छैन । दासता कसैले खोजेका छैनन् ।’

जनताको बलिदान र संघर्षबाट आएको लोकतन्त्रमाथि औंलो नठड्याउन उहाँले राजाबादीहरुलाई चेतावनी दिनुभयो ।