१६ वैशाख २०८१, आइतवार

विचार

दुईवटा मिर्गौला फेरेका ओलीको चकित पार्ने सक्रियता

२७ मंसिर २०८०, बुधवार
Image

झापा, २७  मंसिर। दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तातो घाममा बसेर बुढ्यौली समय बिताउने धेरै छन् ।

तर, ७१ वर्षीय एमाले अध्यक्ष केपी शर्मा ओलीको हकमा यो कुरा लागू हुँदैन । हिउँदका यी चिसा दिनमा ओली मध्यपहाडी लोकमार्गमा साँझ, बिहान अनि राति नभनी दैनिक सयौं किलोमिटर यात्रा गरिरहेका छन् । झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको अग्रपंक्तिमा ओली छन् । उनलाई केन्द्रमा राख्दै पार्टी नेतृत्वका सारथिहरू पछिपछि कुदिरहेका छन् । 

बैतडीको झुलाघाटबाट शुरू भएको यो अभियान एकदुई दिनको मात्र हैन, १९ दिनसम्म चल्दा अभियानले दैनिक सयौं किलोमिटर दूरी पार गर्छ । मंसिर १४ बाट शुरू भएको मध्यपहाडी २४ जिल्लाकेन्द्रित यो अभियान २ पुसमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिँदैछ । 

यो अभियानका क्रममा ओलीको टीमले दोस्रो दिन सबैभन्दा कम अर्थात् ७० किलोमिटर दुरी पार गरेको थियो । छैटौं दिन सुर्खेतबाट रुकुमकोटको बासस्थानसम्म पुग्दा सबैभन्दा बढी अर्थात् १९० किलोमिटरको दुरी छिचोल्नुपर्‍यो ।

अन्तिम बिन्दु पाँचथरको चिवाभञ्ज्याङ पुगेर अभियान सकिन अझै केही दिन लाग्नेछ । 

जाडोयामका साँझ, बिहान र राति नभनी दैनिक सयौं किलोमिटर यात्रा तय गर्ने क्रममा अभियान अन्तिम प्रदेश कोशीमा गरेको छ । तर, १३ औं दिनसम्म आइपुग्दा अभियानको केन्द्रमा रहेका ओलीको ऊर्जा घटेको छनक समेत मिल्दैन ।

रणनीतिक महत्त्वको यो सडक खण्ड सुविधासम्पन्न छैन । कहीँ थोरै पिच भएको, कहीं ग्राभेल भएको र कहीं ट्रयाकमात्रै खोलिएको यो खण्डमा दिनकै सयौं किलोमिटर यात्रा स्वस्थ मानिसका लागि पनि सहज हुँदैन । यसमा झन् मौसम अनुकूल नहुँदा समस्या थपिन्छ । तर व्यस्त र सक्रिय तालिकाबीच ओली दिनको चाररपाँच घण्टा मात्रै सुत्ने संकल्प यात्रामा सक्रिय रहेको उपमहासचिव विष्णु रिमाल बताउँछन् । 

‘हाम्रो टोलीको कसैको पनि स्वास्थ्य तलमाथि परेको छैन । अध्यक्ष सबैभन्दा स्वस्थ हुनुहुन्छ । फुर्तिलो हुनुहुन्छ । यो अभियानमा उहाँ मुस्किकले चाररपाँच घण्टामात्रै सुत्नुभएको छ,’ रिमाल भन्छन्, ‘बरु हामीलाई तिमीहरू गल्यौ कि भनेर सोध्नु हुन्छ । उहाँको विलपावर साह्रै बलियो छ । उहाँलाई गाह्रो भयो कि भनेर सोध्नु नै आवश्यक छैन ।’ 

प्रधानमन्त्री हुँदा बालुवाटार र नहुँदा बालकोटमा अबेर रातिसम्म नेतारकार्यकर्तासँग भेटघाट गर्ने ओली दैनिक सरदर २ बजे सुतेर ५ बजे उठ्ने गरेको निकटस्थहरू बताउँछन् ।

दोस्रोपटक ‘किड्नी ट्रान्सप्लान्ट’ गरेको एक सातामै कार्यक्रमलाई सम्बोधन गरेर ओलीले विश्वलाई चकित पारेको उपमहासचिव रिमालले स्मरण गरे ।

‘दोस्रोपटक किड्नी ट्रान्सप्लान्ट गरेको सात दिनमै साउथ एसियन कार्यक्रमलाई सम्बोधन गर्नुभयो । किड्नी ट्रान्सप्लान्ट गरेको व्यक्तिले यसरी सात दिनमै भाषण गरेको दुनियाँमा उदाहरण कम नै होला,’ रिमाल भन्छन्, ‘बरु हामीलाई उहाँले दौडाउनुभएको छ । उहाँको तुलनामा हामी धेरै सक्रिय होइनौं । सक्रियता र स्वास्थ्यको हिसाबमा केपी ओलीसँग हामी कसैको तुलना हुँदैन ।’ 

मिर्गौला फेरिएपछि खानपानमात्र मात्रै होइन, धेरैथरी औषधिसमेत दैनिक सेवन गर्नुपर्ने हुन्छ । तर, व्यस्त तालिकाबीच पनि ओलीले त्यसलाई सहजै व्यवस्थापन गरेका छन् । बिहान, खानापछि दिउँसो र बेलुकासम्मै ओली विभिन्न स्वास्थ्य समस्याका औषधि सेवन गर्छन् । घरमा जस्तै यो संकल्प यात्रामा पनि उनको औषधि र खानपानको रेखदेख श्रीमती राधिका शाक्यले गर्ने गरेको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए ।

संकल्प यात्राका क्रममा ओलीका लागि छुट्टै खानासमेत नपाक्ने बजगाईंले बताए । 

‘सकारात्मक सोच र सक्रिय दैनिकीले उहाँले कठिन स्वास्थ्य अवस्थालाई पार लगाउँदै आउनुभएको छ,’ बजगाईंले भने, ‘यसपटक संकल्प यात्रामा पनि अध्यक्षका लागि खानापानमा छुट्टै व्यवस्था केही छैन, अरूले खाएजस्तै खानुहुन्छ । अरू बसेकै होटलमा बस्नुहुन्छ । उहाँका लागि मात्रै भनेर छुट्टै केही व्यवस्था गरिएको छैन ।’ 

उनले यस्तो दाबी गरे पनि लोकान्तर टीम एमाले अभियान पच्छ्याउँदै सिन्धुपाल्चोकको बाहुनेपाटी पुग्दा ओलीसहित १७र१८ जना नेताका लागि छुट्टै खानाको व्यवस्था गरेको पाइएको थियो ।

यात्राका क्रममा टोलीका सदस्यमाथि स्वास्थ्य समस्या आइहाले उपचारका लागि चिकित्सकको टोली सँगै हिँडेको छ । 

मिर्गौला फेरका ओलीको ७० वर्षमाथिको उमेरमा देखिएको सक्रियता लोभलाग्दो छ । दिनभर गाडीमा सयौं किलोमिटर यात्रा गरेर राति कार्यक्रममा पुग्दा समेत उनी सम्बोधन गर्न छुटाउँदैनन् ।

‘सम्भावित बिन्दुभन्दा डबल कार्यक्रम भयो । देशैभर कलरफूल कार्यक्रम भएका छन् ।  बिहान सबेरै लाइन लाग्छन् । नागरिकहरू, बिहानदेखि साँझसम्म फूलमाला, घडासहित कार्यक्रममा सहभागी भएका छन्,’ ओलीको कार्यक्रमको तालिका बनाउन सबैभन्दा बढी योगदान गरेका उपमहासचिव रिमाल भन्छन्, ‘९ बजेर २६ मिनेटमा नुवाकोट आयौं । साथीहरू जानुहोला कि भन्ने डर लागेको थियो । धैर्यतापूर्वक बस्नुभयो ।  अध्यक्षले बोल्दा झन्डै १० बजेको थियो ।’ 

‘चाहे रुकोस् चिसो बतास, यो नेपाली रुक्दैन १ रातिको सवा दश बज्यो, हाम्रो यात्राका यात्रीहरू जूनकीरीझैँ ज्योति बालेर चम्किरहेका छन् । यो कठ्याङ्ग्रिँदो चिसोमा पनि राति अबेरसम्म यात्रामा सहभागी हुनुभएका नुवाकोट बट्टारवासी दिदीबहिनी, दाजुभाइ र युवाहरूमा धन्यवाद १ शुभरात्रि १’ नुवाकोटमा राति साढे १० बजे सभा सकेपछि ओलीले सामाजिक सञ्जालमा लेखेका थिए ।

गुल्मी, कास्कीको हेम्जा, नुवाकोट, दोलखाको चरिकोट, रामेछापको मन्थलीसहितका ठाउँमा ओलीले साँझ र राति सभालाई सम्बोधन गरेका थिए । 

मुख्यगरी आफ्नो परम्परागत प्रभाव रहेको र आधार इलाकामा पर्ने मध्यपहाडी भेगमा एमालेले यसपटक थप प्रभाव र पहुँच देखाउन पनि यो संकल्प यात्रा गरेको नेताहरू बताउँछन् । पुराना दलप्रति विश्वास नटुटेको देखाउन संकल्प यात्रा प्रभावकारी भएको दाबी नेता प्रदीप ज्ञवालीले गरे ।

एमालेले अध्यक्ष ओलीलाई नै केन्द्रमा राखेर यो संकल्प यात्रा गरिरहेको छ ।

अभियानभरका कार्यक्रमलाई उनले मात्रै सम्बोधन गर्ने र उनी मात्रै गाडीबाट ओर्लने कडा प्रावधानले पनि ओलीलाई सेन्टरमा राखेर यो कार्यक्रम गरिएको बुझ्न गाह्रो छैन । यस क्रममा ओलीले तालिकाबद्ध सभा र भेटघाट बिन्दुमा आफैँ सम्बोधन गरिरहेका छन् ।

‘नेतृत्वलाई जनतासँग परिचित गर्नेगरी सन्देश दिने कार्यक्रम हो, बहुमुख र बहुसन्देश दिने प्रयत्न केही गरेका छैनौं । सबै ठाउँमा बोल्ने उहाँ नै  हो । सन्देशलाई एकद्वार गरेका छौं । विषय एउटा भएपछि विभिन्न तरिकाले नबोल्ने हाम्रो नीति छ,’ ओली नै कार्यक्रमको मुख्य केन्द्र रहेको पुष्टि गर्दै रिमाल भन्छन्, ‘यसैले ठूला सभामा अध्यक्षले मात्रै बोल्नुभएको छ । भेटघाट बिन्दुमा छोटो मन्तव्य पनि अध्यक्षले मात्रै दिनुहुन्छ । हामी पदाधिकारी र वरिष्ठ नेताले साथ मात्रै दिएका छौं ।’ 

ओलीले डडेल्धुरा पुग्दा कांग्रेस सभापति शेरबहादुर देउवाको सञ्चोविसञ्चो सोधे । तर अछाम पुग्दा आफ्नै पार्टीका भीम रावलको कुनै सोधखोज गरेनन् । जसका कारण उनीमाथि आलोचनाका स्वरहरू समेत सुनिएका छन् ।

यसबीचमा ओलीले आफू सहिष्णु र सौहार्द रहेको देखाउन पनि प्रयास गरेका छन् । उनी दैलेख, गोरखा र जाजरकोटमा सर्वदलीय छलफल गराउन तयार भए । ओलीले मात्रै होइन, अरू दलका नेताले पनि उनको यो संकल्प यात्रामा हार्दिकता देखाएका छन् ।

भूकम्पपछि अस्थायी संरचना निर्माणमा जुटेका माओवादी नेता जनार्दन शर्माले ओलीलाई पुष्पगुच्छासहित रुकुम पश्चिममा स्वागत गरे । कांग्रेसबाट मेयर जितेका कृष्णप्रसाद कोइरालाले ओलीलाई लमजुङको सुन्दरबजारमा स्वागत गरे । सिन्धुपाल्चोकका माओवादी नेताले समेत ओलीप्रति हार्दिकता देखाएर स्वागत गरे ।

यात्राका क्रममा ओलीले बाटोमा भेटिएका दुलाहादुलहीलाई शुभकामना दिन समेत भ्याएका छन् । साना बालबालिकासँग भेटेको फोटोलाई सेयर गरेका छन् ।

‘गोरखाको संयोग स् यी नानी १३ वर्षअघि मेरो काखमा बसेकी रैछिन् । गोरखामा संयोगवश भेट भयो । काखमा लिएका अरू धेरैसँग भेट्न बाँकी छ । यिनीसँगको भेटबाट खुशी छु,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन् । 

भूगोल विशेष र स्थानीय कला, संस्कृति, स्थानीय व्यापारलाई समेत प्रबर्द्धन गर्न उनले प्रयास गरेका छन् ।

‘इन्द्रावती र भोटेकोशी नदीको संगमस्थल दोलालघाट माछाका लागि प्रख्यात छ । यहाँको व्यापार व्यवसायबारे थोरै कुराकानी भयो । माछा खान आउनेहरू यहाँ धेरै भेटिन्छन् । यात्राका क्रममा हामी दोलालघाट ओर्लियौं । मैले माछा तारेर साथीहरूलाई खुवाएँ,’ काभ्रेको दोलालघाट पुगेर ओलीले सामाजिक सञ्जालमा लेखेका थिए ।

(लोकान्तर)

लेखकको बारेमा
Image
रमेश सापकोटा