मेचीनगर, २८ मंसिर । मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा (प्रमाण) वितरण गरेको छ ।
सोमबारदेखि सुरु भएको जग्गाको निस्सा वितरण कार्य अन्तर्गत बुधबार मेचीनगर ९, १०, ११ र १२ नम्बर वडामा निस्सा वितरण गरिएको हो । हालसम्ममा दुई हजार २२४ जनाले निस्सा पाइसकेका छन् ।
मेचीनगर वडा नं. ९ मा अव्यवस्थित बसोबास ४२६, भूमिहिन सुकुम्बासी ११० र भूमिहिन दलित ४५ गरी जम्मा ५८१ जनाले निस्सा पाएका छन् ।
त्यसैगरी, मेचीनगर–१० मा अव्यवस्थित बसोबास ८३, भूमिहिन सुकुम्बासी १७५ र भूमिहिन दलित १९ गरी जम्मा ४४७ जनाले, मेचीनगर–११ मा अव्यवस्थित बसोबास १५७, भूमिहिन सुकुम्बासी १४४ र भूमिहिन दलित ३५ गरी जम्मा ३३६ जनाले र मेचीनगर–१२ मा अव्यवस्थित बसोबास ३२०, भूमिहिन सुकुम्बासी ८८ र भूमिहिन दलित २६ गरी जम्मा ४३४ जनाले जग्गाको निस्सा पाएका छन् ।
भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यस्थीत बसोबासीको लगत संकलन सम्बन्धी कार्यविधि २०७८ बमोजिम नगरपालिकाबाट सङ्कलित विवरणको निस्सा वितरण गरिएको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताउनुभयो ।
निस्सा वितरण गर्न नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, सामाजिक विकास समितिका संयोजक हृदय राजबंशी, मेचीनगर भूमि आयोग समितिका संयोजक अमित खम्बु, सम्बन्धित वडाका वडाध्यक्ष लगायतको उपस्थिति रहने गरेको छ ।
मेचीनगरले हालसम्म वडा नम्बर १ देखि १२ सम्म जग्गाको निस्सा वितरण कार्य अगाडि बढाएको छ भने, बाँकी रहेका १३, १४ र १५ नं. वडामा शुक्रवार वितरण गरिने नगरप्रमुखको सचिवालयले जनाएको छ ।