२१ वैशाख २०८१, शुक्रवार

झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्रा अपेक्षाकृत सफल : एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेल

२ पुष २०८०, सोमवार
Image

झापा, २ पुस । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले भर्खरै सम्पन्न गरेको झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्रा अपेक्षाकृत सफल भएको बताउनुभयो । 

बिर्तामोडमा प्रेस चौतारी झापाले आज आयोजना गरेको  पत्रकार सम्मेलनमा पोखरेलले संकल्प यात्रा कसैको बिरुद्धमा नभएको उहाँको दाबी थियो ।  उहाँले संकल्प यात्रा, जनजागरणको यात्रा भएको बताउँदै बर्तमान सरकारका गलत कार्यको खबरदारीसमेत भएको बताउनुभयो ।

निर्वाचनमा मात्र दलहरु जनताको घर दैलोमा आउँछन् भन्ने जनताको गुनासो सम्बोधन यात्राले गरेको टिप्पणी पोखरेलको थियो । उहाँले पार्टीलाई जनतासँग जोड्न यो यात्रा सफल रहेको दावी गर्नुभएको छ ।

बैतडीको झुलाघाटबाट सुरु भएको यो यात्रा १८ दिनपछि पाँचथरको चिवाभन्ज्याङमा समापन भएको थियो । यात्राका क्रममा जनताका बिभिन्न गुनासोहरु सुन्ने अवसर प्राप्त भएको पोखरेलले बताउनुभयो । । राजनीतिक हिसाबले जनतामा निरासा पैदा भइरहेको अवस्थामा उत्साह जगाउनसमेत यात्रा प्रभावकारी रहेको जनसहभागिताले पुष्टि गरेको उहाँले बताउनुभयो ।

उहाँले मध्य पहाडी क्षेत्रका जनताको अवस्था, जनजिविकाको सवाल, बसाँई सराई लगायत सम्भाब्यता अध्ययनका निम्ति ठुलो सफलता पाएको बताउनुभयो । चाँडै काठमाण्डौमा समग्र अभियानको प्रतिवेदन सार्वजनिक गरिने उल्लेख गर्दै पोखरेलले यात्रा अवधिभर साथ र सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।

प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले झापाका इन्चार्ज विशाल भट्टराई, झापाका अध्यक्ष दिपक कार्की लगायतको उपस्थिति रहेको थियो ।