२० वैशाख २०८१, बिहिवार

पाँच लाख घुस लिदैगर्दा वडाध्यक्ष पक्राउ

२ पुष २०८०, सोमवार
Image

झापा, २ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले सेवाग्राहीसँग घुस लिएको आरोपमा बारा जीतपुर सिमरा उपमहानगरपालिका-- ३ का वडाध्यक्ष तारा कार्कीलाई पक्राउ गरेको छ ।

आयोगको टोलीले वडाध्यक्ष कार्कीलाई नगद पाँच लाख रुपैयाँसहित आज पक्राउ गरेको हो ।

जीतपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा अख्तियारको टोलीले कार्कीलाई पक्राउ गरेको छ । उनको साथबाट सेवाग्राहीले दिएको पाँच लाख रुपैयाँ घुस रकमसमेत अख्तियार टोलीले बरामद गरेको छ ।

वडाध्यक्ष कार्कीले सडक बाटो सिफारिसका लागि स्थानीय जग्गा व्यवसायी राजन उप्रेतीसँग पाँच लाख रुपैयाँ घुस मागेको बताइएको छ ।

प्रहरी नियन्त्रणमा रहेको समयमा कार्कीले आफूलाई भूमाफियाले फसाउने षड्यन्त्र गरेको प्रतिक्रिया दिए । वडाध्यक्ष कार्की नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।