२० वैशाख २०८१, बिहिवार

देउमाइले दियो ज्येष्ठ नागरिकलाई पोशाक भत्ता

६ पुष २०८०, शुक्रवार
Image

इलाम, ६ पुस । इलामको एक स्थानीय तहले ज्येष्ठ नागरिकलाई समेत पोशाक भत्ता उपलब्ध गराउँदै आएको छ । 

जिल्लाको देउमाई नगरपालिकाले नगरभित्रका ७० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई रु। दुई हजारका दरले पोशाक भत्ता उपलब्ध गराउँदै आएको हो । उनीहरुलाई नगरपालिकाले प्रत्येक पहिलो त्रैमासिकमै पोशाक भत्ता उपलब्ध गराउँदै आएको लेखा अधिकृत गजेन्द्र येक्तनले जानकारी दिनुभयो ।  

चालु आर्थिक वर्षमा नगरभित्र स्थायीरुपमा बसोबास गर्ने एक हजार सात सय ५४ ज्येष्ठ नागरिकले पोशाक भत्ता पाएका छन् । उनीहरुले यस वर्ष मात्र रु ३५ लाख आठ हजार पोशाक भत्ता प्राप्त गरेको उहाँले बताउनुभयो । 

गएको आव २०७९÷०८० मा एक हजार पाँच सय ७६ जना ज्येष्ठ नागरिकले रु ३१ लाख ५२ हजार पोशाक भत्ता लिएका थिए । ज्येष्ठ नागरिकले वर्षमा एकपटक न्यानो नयाँ लुगा लगाउन् भन्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको नगरप्रमुख सूर्य पोख्रेलले बताउनुभयो । “शिक्षक, तथा सरकारी निकायका कर्मचारीलाई नेपाल सरकारले वर्षमा एकपटक पोशाक भत्ता दिन्छ, तर ज्येष्ठ नागरिकलाई दिँदैन”, नगर प्रमुख पोख्रेलले भन्नुभयो, “ज्येष्ठ नागरिकलाई पनि चाडबाडमा नयाँ लुगा लगाउन मन लाग्छ । यसर्थ वर्षमा एकपटक नयाँ न्यानो लुगा लगाउन् भनेर नगरले यस्तो कार्यक्रम सुरु गरेकोे हो ।” 

पोसाक भत्ता पाउनका लागि देउमाई नगरभित्र स्थायी बसोबास भएको ज्येष्ठ नागरिक हुनुपर्छ । नगरपालिकाले ज्येष्ठ नागरिकलाई पोशाकका लागि चालु आवमा रु ३६ लाख विनियोजन गरेको थियो । 

यसैगरी उक्त नगरपालिकाले दीर्घरोगीलाई औषधि खर्चवापत वार्षिक रु पाँच हजार पनि उपलब्ध गराउँदै आएको छ । गत वर्ष नगरपालिकाले ४० दीर्घरोगीलाई रु दुई लाख उपलब्ध गराएको थियो । चालु आवको पहिलो त्रैमासिकमा ११ दीर्घरोगीले रु ५५ हजार प्राप्त गरेको लेखा अधिकृत येक्तेनले जानकारी दिनुभयो ।