२१ वैशाख २०८१, शुक्रवार

सिटौलालाई उम्मेद्वार बनाउन नेकां झापाको सिफारिस

७ पुष २०८०, शनिवार
Image

झापा, ६ पुस  नेपाली कांग्रेस झापाले आसन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई उम्मेद्वार बनाउन सर्वसम्मत सिफारिस गरेको छ ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा आज जिल्ला कार्यसमितिको बैठकले उहाँलाई उम्मेद्वार बनाउन सर्वसम्मत सिफारिस गरेको हो । 

बैठकमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा क्षेत्र र गाउँ–नगरका सभापतिहरुको सहभागिता रहेको थियो । राष्ट्रियसभा सदस्यको उम्मेद्वारका लागि सिफारिस गर्ने प्रस्ताव पार्टीका जिल्ला सभापति थेवेले राख्नु भएको थियो । 

नेता सिटौलाले नेपालको शान्ति प्रक्रियामा सरकारी वार्ता टोलीको संयोजक भएर दश बर्षे माओवादी सशस्त्र विद्रोहलाई शान्ति वार्तामार्फत समाधान गर्न उल्लेखनीय योगदान पु¥याउनुभएको हुँदा उहाँलाई राष्ट्रिय सभा सदस्यको उम्मेद्वार सिफारिस गरिएको पार्टीका सचिव कृष्ण हुमागाईले बताउनुभयो ।

उहाँले संविधान मस्यौदा समितिको सभापति भएर नेपालको संविधान–२०७२ निर्माणमा पनि सिटौलाले महत्वपूर्ण योगदान गर्नुभएको बताउनुभयो । सिटौला भद्रपुर नगरपालिका वडा नं. १० निवासी हुनुहुन्छ । 

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुँदैछ । नेता सिटौलालाई राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित गराएर उक्त सभाको अध्यक्षको उम्मेद्वार बनाउने विषयमा नेपाली कांग्रेस वृत्तमा चर्चा भइरहेको छ ।