२१ वैशाख २०८१, शुक्रवार

पूर्वीनाकालाई सौन्दर्यकरण गर्न ‘संकल्प अभियान’ सुरु

७ पुष २०८०, शनिवार
Image

झापा, ७ पुस । पूर्वीनाका काँकडभिट्टालाई सौन्दर्यकरण गर्न स्थानीयबासीले स्वस्फूर्त अभियान सुरु गरेका छन् । अभियानको नाम ‘संकल्प अभियान’ राखिएको छ ।

एसियाका भारत, बंगलादेश, म्यान्मार, थाइल्यान्ड लगायत ३२ वटा मुलुकलाई सडक सञ्जालले जोड्ने एसियाली राजमार्गको एउटा चार लेनको पुल र ५०० मिटर पहुँच मार्ग सञ्चालनमा आएको एक वर्ष बितिसक्दा समेत पूर्वीनाकाको सौन्दर्यकरणमा कसैले ध्यान दिइएको थिएन ।

पर्यटक भित्रिने मूलढोका भएकाले नाका व्यवस्थित, सफा, सुन्दर र पर्यटकमैत्री हुनुपर्दछ भन्ने सोचका साथ नागरिकहरु स्वस्फूर्त रुपमा काँकडभिट्टाको सौन्दर्यकरण अभियानमा होमिएको संकल्प अभियानका संयोजक बिजय डालमियाले बताउनुभयो ।

अभियानमा सामाजिक संघ संस्था, व्यवसायी, बुद्धिजीवी, कलाकार, सञ्चारकर्मी, राजनीतिकर्मी लगायतको ठूलो संख्या जोडिएको छ । अभियानले पहिलो चरणमा पूर्वीनाकामा रहेको मेची पुलदेखि एसियाली राजमार्गको पहुँचमार्गसम्मको ५०० मिटर क्षेत्रमा सरसफाई र सौन्दर्यकरणको विभिन्न काम गर्ने भएको छ ।

“जोकोही पर्यटकले नेपाल भित्रिदै गर्दा सबैभन्दा पहिला अब नेपाल प्रवेश गर्दैछु र नेपाल साह्रै सुन्दर देश हो भन्ने अनुभूति गर्न सकोस्,” अभियन्ता दिपक पोखरेलले भन्नुभयो–“यसका लागि नाका सफा, सुन्दर र राष्ट्रिय पहिचानले युक्त हुनुपर्यो । हामी अभियानमार्फत नियमित सरसफाई कार्यक्रम गर्नेछौं । सडकका दायाँबायाँका भित्ताहरुमा चित्रकला सजाउनेछौं । खाली जमिनमा फूल बगैचा बनाउनेछौं ।”

सुरुमै महंगो काम नसोचिएको र साना साना कामबाट नाकालाई मनमोहक र हेरुँहेरुँ लाग्ने बनाउने कार्यक्रमहरु अघि सारिएको जनाउँदै उहाँले पुरानो मेची पुल पार गर्ने बित्तिकै दोबाटोमा रहेको ‘कर्नर आइल्यान्ड’लाई सुन्दर बगैचामा रुपान्तरण गरिने जानकारी दिनुभयो ।

पूर्वीनाकाको प्रवेशद्वारमा टाढाबाटै देखिने गरी अग्लो राष्ट्रिय झण्डा राखिने र सडकका भित्ताहरुमा राष्ट्रिय गौरव झल्किने चित्रकला बनाइने अभियानले जनाएको छ । अभियानले नाकाको सौन्दर्यकरण कार्यक्रममा मेचीनगर नगरपालिका, मेची भन्सार कार्यालय र सुरक्षा निकायहरुसँग समेत ममन्वय गरिरहेको पोखरेलले बताउनुभयो ।

भारत सरकारले एसियाली राजमार्ग अन्तगर्त चार लेनको मेची पुल र नेपालतर्फ ५०० मिटर लामो छ लेनको फराकिलो सडक गतवर्ष नै निर्माण गरेको हो । यो राजमार्ग म्यान्मार र बंगलादेश हुँदै भारतको पानीटंकी सीमाबाट नेपालको काँकडभिट्टा नाका प्रवेश गर्दछ । पहुँच मार्गमा सडक कालोपत्रे, रात्रि बत्ती र फुटपाथ रेलिङ निर्माण गरिए पनि सडकको बीचमा रहेको लेन छुट्याउने भाग र वरपरको खाली ठाउँमा सौनदर्यकरण गर्ने कुनै कार्य भएको छैन । अब त्यो अधुरो रहेको काम स्थानीयबासीको पहलमै हुने भएको हो ।

हाल नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र मेची भन्सारको आआफ्नै चेकजाँच टोली बस्दै आएको छ । तर, सुरक्षाकर्मी र पर्यटकका लागि निर्मित अपांगमैत्री शौचालय, खानेपानीको धारा र कोरोनाकालीन अस्थायी होल्डिङ सेन्टर वेवारिसे बनेको छ ।

खानेपानीको आधा दर्जन धारा, पिउने पानीको स्वच्छताका लागि जडान गरिएको अत्याधुनिक प्रशोधन उपकरण र आधुनिक शौचालय प्रयोगविहीन बनेको छ । धाराका टुटीहरु चोरी भइसकेका छन् । पानी फिल्टर गर्ने मेसिनमा खिया लाग्न थालिसकेको छ भने अपांगमैत्री भनिएको शौचालयमा सिढी राखेर उक्लिन नसकिने बनाइएको छ ।

एसियाली राजमार्गको पहुँच मार्ग निर्माणपछि नाकाको पुराना संरचना सबै भत्काइएको हुँदा नेपाली भूभागको पहिचानका लागि समेत नाकामा राष्ट्रिय पहिचानको झल्को दिने नयाँ संरचना निर्माण गरिनुपर्ने अभियन्ता राजु कार्की बताउनुहुन्छ । 

अभियानले मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठक, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक दिपक भारती, मेचीनगरका निवत्र्तमान नगरप्रमुख बिमल आचार्य, वडाध्यक्ष ललित तामाङ, पूर्वमेची यातायात प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठलगायतका सामाजिक अगुवाहरुलाई अभियानमा योजना बारेमा अवगत गराउन आज स्थलगत अवलोकन गराएको छ ।

नाकालाई व्यवस्थित र सौन्दर्यकरण गर्ने अभियान सकारात्मक रहेको जनाउँदै इप्रका काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक दिपक भारतीले आफ्नो तर्फबाट सहयोग रहने बताउनुभयो ।