२३ वैशाख २०८१, आइतवार

झापा इनर्जी : दश मेगावाट विद्युत उत्पादन सुरु

११ पुष २०८०, बुधवार
Image

झापा, १० पुस । झापा इनर्जी प्रालिबाट उत्पादित दश मेगावाट विद्युत नेपाल विद्युत प्राधिकरणको प्रशारण लाइनमा जोडिएको छ । निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको यो सौर्य ऊर्जा परियोजना झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सञ्चालित छ ।

नेपाल विद्युत प्राधिकरणको दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले मंगलवार साँझ छ बजेतिर प्राधिकरणको शिवसताक्षीस्थित बुलुचोक सबस्टेसनमा उक्त सौर्य ऊर्जा जोडिएको बताउनुभयो ।

“झापा इनर्जीको यो परीक्षण उत्पादन हो,” प्राधिकरणका दमक प्रमुख चौधरीले भन्नुभयो–“केही दिनसम्म लगातार परीक्षण जारी रहनेछ ।” उक्त विद्युत उत्पादन सबस्टेसनमा जोडिदा विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा, प्राधिकरणका कोशी प्रदेश कार्यालयका ईन्जिनियर साजन महर्जन, झापा इनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

झापा इनर्जीका प्रबन्ध निर्देशक भट्टराईले आगामी १५ दिनसम्म परियोजनाबाट विद्युत उत्पादन गरेर प्राधिकरणको सबस्टेसनमा जोडिरहने बताउनुभयो । परीक्षणकाल भएकाले सो अवधिमा निजी कम्पनीले उत्पादन गरेको विद्युतको कुनै शुल्क प्राधिकरणले तिर्नुपर्दैन । 

पूर्वपश्चिम राजमार्गको दुधेबाट १० किलोमिटर दक्षिण गाउँमा २१ बिगाहा क्षेत्रफलमा परियोजना सञ्चालन भइरहेको छ । सोही स्थानमा सौर्य प्यानल राखिएको छ । झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य एलपी साँवाको नेतृत्वमा रु. ८१ करोडको लगानीमा चार वर्षअघि परियोजनाको निर्माण सुरु भएको थियो । परियोजनामा माछापुच्छ«े बैंक र सिभिल बैकको ७५ प्रतिशत वित्तीय साझेदारी र २५ प्रतिशत पब्लिक शेयर रहेको छ । 

परियोजनास्थलबाट नेपाल विद्युत प्राधिकरणको बुलुचोक सबस्टेसन एक किलोमिटरको दूरीमा छ । सबस्टेसनसम्म विद्युत पुर्याउन कम्पनी आफैले ९६० मिटर प्रशारण लाइन निर्माण गरेको थियो ।

झापा इनर्जी प्रालि र नेपाल विद्युत प्राधिकरणबीच २०७८ मंसिर १२ गते विद्युत खरिद सम्झौता भएको थियो । सम्झौता अनुसार परियोजनाबाट उत्पादित विजुली प्राधिकरणले प्रतियूनिट सात रुपैयाँ ३० पैसामा खरिद गर्ने भएको छ ।