२४ वैशाख २०८१, सोमवार

कृषिमा जग्गाको हदबन्दी हटाउनुपर्छ : पूर्व अर्थमन्त्री पाण्डे

११ पुष २०८०, बुधवार
Image

झापा, ११ पुस । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले व्यावसायिक कृषि उद्यमका लागि जग्गाको हदबन्दी हटाउनु पर्ने बताउनुभएको छ ।

झापाको विर्तामोडमा नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले ‘कृषि जग्गामा हदबन्दी जरुरत नै नभएको’ धारणा व्यक्त गर्नुभयो ।

“नेपालमा बसेर काम गर्नेे वातावरण बनाउने हो भने सरकारले नयाँ ढंगले सोच्ने र नयाँ योजनाका साथ काम गर्न थाल्नुपर्छ,” पूर्व अर्थमन्त्री पाण्डेले भन्नुभयो–“कृषि उद्योगमा जग्गाको हदबन्दी हटाउनुपर्छ । जति खेती गर्न सक्छौं गर, लु जग्गा लैजाउ भनेर भन्न सक्नुपर्छ ।”

जग्गालाई टुक्रा टुक्रा पारिएकाले कृषिमा लागत महँगो भएको र उत्पादनले नाफा दिन नसकेको जनाउँदै उहाँले जग्गालाई बाझो राख्न नदिने कानून निर्माण गर्न स्थानीय तहको सरकारलाई आग्रह गर्नुभयो ।

भारतले धान निर्यातमा रोक लगाएको प्रसंग निकाल्दै उहाँले यसलाई धानमा आत्मनिर्भर हुने अवसरको रुपमा लिइनु पर्ने बताउनुभयो । साढे दुई खर्बको धान आयात हुने गरेको हुँदा आयात प्रतिस्थापन हुनेगरी नेपालमै उत्पादन गर्न सरकारको जोडबल हुनुपर्ने उहाँको सुझाव थियो ।

पूर्व अर्थमन्त्री एवम् एमाले उपाध्यक्ष पाण्डेले पर्यटकको आगमन वृद्धि र भारतले दश वर्षमा दश हजार मेगावाट विद्युत खरिद गर्ने विषय नेपाली अर्थतन्त्रको सकारात्मक सूचक भएको बताउनुभयो ।

“कोभिड शान्त भएपछि कहाँ जाउँ भइरहेका विदेशीले नेपाललाई आफ्नो घुमफिरको गन्तब्य बनाएका छन्,” उहाँले अर्थतन्त्र सुदृढ हुने सम्भावनाका बारेमा बोल्दै भन्नुभयो–“सन् २०२०÷०२१ तिर नेपालमा पर्यटनबाट रु. १९ अर्ब मात्र आम्दानी भएको थियो, चालू आर्थिक वर्षमा बढेर रु. ७६ अर्बको हाराहारी पुग्न लागिसकेको छ ।” पर्यटक ओसार्ने पर्याप्त हवाइजहाज नभएका कारण यातायातमा अझै ठूलो रकम बाहिर गइरहेको समेत उहाँले बताउनुभयो ।

भारतले आगामी दश वर्षमा दश हजार मेगावाट विद्युत खरिद गर्ने सहमति कार्यान्वयनमा गयो भने नेपालमा लगानी र आर्थिक गतिविधि तीब्र हुने उहाँको धारणा थियो । “दश हजार मेगावाट विद्युत उत्पादन गर्न रु. ३० खर्बको हाराहारीमा लगानी गर्दा मुलुकको अर्थतन्त्र चलायमान हुनेछ,” उहाँले भन्नुभयो–“विद्युत विक्रीबाट नेपालले ठूलो आम्दानी गर्ने कुरा छँदैछ, देशभित्रका सिमेन्ट, फलामे छड लगायतका उद्योग पनि फस्टाउने सम्भावना हुनेछ ।”