२१ वैशाख २०८१, शुक्रवार

अभियानको यस्तो छ नाका सजाउने संकल्प

१२ पुष २०८०, बिहिवार
Image

मेचीनगर, १२ पुस । मेचीनगरलाई सुन्दर, सभ्य र संस्कारयुक्त बनाउन गठित ‘संकल्प अभियान’ले आगामी शनिवार काँकरभिट्टामा सरसफाई अभियान सुरु गर्ने भएको छ ।

पूर्वीनाका काँकडभिट्टालाई सफा र सुन्दर बनाएर पर्यटकलाई सुन्दर नेपालको पहिलो झल्को अनुभूति गराउने लक्ष्यका साथ सरसफाईलाई पहिलो कार्यक्रम बनाइएको अभियानका संयोजक विजय डालमियाले बताउनुभयो ।

संयोजक डालमियाले सरसफाई अभियानमा सहभागिताका लागि मेचीनगरका सामाजिक संघ संस्था, राजनीतिक दल र नागरिक समाजलाई आह्वान गर्नु भएको छ ।

नाका सजाउने योजना

अभियानले आज काँकरभिट्टाको मेची सामुदायिक भवनमा एक कार्यक्रमको आयोजना गरी काँकरभिट्टास्थित पूर्वीनाकालाई सुन्दर र पर्यटकमैत्री बनाउने आफ्नो परियोजना सार्वजनिक गरेको छ ।

जसमा पूर्वीनाकाको भित्तामा सुन्दर चित्रकलाले सजाउने र कर्नरमा मनमोहक बगैचा निर्माण गर्न सकिने थ्रीडी परियोजना प्रस्ताव इन्जिनियर विवेक प्रधानले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी संविधानसभा सदस्य रविन कोइराला, मेचीनगरका निवत्र्तमान नगरप्रमुख बिमल आचार्य, मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी, सहारा नेपालका सीइओ एवम् सामाजिक अभियन्ता महेन्द्र गिरी, पूर्वमेची बस व्यवसायी संघ प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, चरा खोजकर्ता देवेन्द्र खरेल, महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजु दाहाल, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका निवत्र्तमान अध्यक्ष रामचन्द्र उप्रेती, केशव गिरी, मुकुन्द्र शिवाकोटी, भुपाल शिवाकोटी लगायतले परियोजनाको प्रशंसा गर्दै नाकाको सौन्दर्यकरणका लागि थप सुझाव प्रस्तुत गर्नु भएको थियो ।

तीन संकल्प पारित

संकल्प अभियानले यो अभियान मेचीनगरबासीको साझा अभियान भएको जनाउँदै तीन वटा संकल्प प्रस्ताव पारित गरेको छ । 

संयोजक बिजय डालमियाले आजको वृहत भेलामा प्रस्तुत गर्नुभएको प्रस्तावको पहिलो बुँदामा भेला, बैठक र कार्यक्रममा अभियानको तर्फबाट चियापान नगरिने संकल्प गरिएको छ ।

दोस्रो बुँदामा हालै मेचीनगर–१० मा सडकमा जाडोले मृत्युवरण गरेकी सहयोगापेक्षी महिलाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै अबोप्रान्त कोही पनि सहयोगापेक्षीले जाडो, भोक र उपचार अभावका कारण मर्नुपर्ने अवस्था आउन नदिइने संकल्प गरिएको छ ।

तेस्रो बुँदामा काँकरभिट्टा पर्यटकका लागि नेपालकै प्रमुख ढोका भएको हुँदा यस नाकाबाट भारतले कोभिड महामारीपछि पर्यटक आवागमनमा लगाउँदै आएको प्रतिबन्ध खुला गर्न आवश्यक सबै पहल गर्ने संकल्प गरिएको छ । 

अभियानका संयोजक बिजय डालमियाको अध्यक्षता र अभियन्ता दिपक पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो । 

सो अवसरमा नेपाली कांग्रेस झापा क्षेत्र नं. १ का सभापति इन्द्र बुढाथोकी, नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु पोखरेल, प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी दिपक भारती, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी, कलाकार केसाङ लामा लगायतको उपस्थिति रहेको थियो ।