१५ वैशाख २०८१, शनिवार

चार भाषामा लेखिएको सापकोटाको ‘नीलि’ उपन्यास लोकार्पण

१४ पुष २०८०, शनिवार
Image

मेचीनगर, १४ पुस । धुलाबारीका पुराना औषधि व्यवसायी गोपाल सापकोटाको उपन्यास कृति ‘नीलि’ आज लोकार्पण भएको छ ।

मेचीनगर–१० निवासी ७२ वर्षीय सापकोटाले आफैले सञ्चालन गर्दै आएको गोपाल मेडिकल स्टोर्सको स्वर्ण उत्सव तथा सापकोटा दम्पत्तिको पचासौं विवाहोत्सवको अवसरमा पारेर श्रीकृष्ण प्रणामी मन्दिर धुलाबारीको प्रांगणमा एक कार्यक्रमबीच उक्त उपन्यासको लोकार्पण गरिएको हो ।

नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष एवम् गोरखापत्र दैनिका पूर्व प्रधानसम्पादक तारा बराल, अग्रज पत्रकार चन्द्र भण्डारी, साहित्यकार बिटु केसी बराल लगायतले कृतिको बिमोचन गर्नुभएको थियो ।

नेपाल औषधि व्यवसायी संघ झापा कृतिको प्रकाशन गरेको हो । सन् १९६०–७० तिरको नेपाली तथा बंगाली समाजको चित्रण पाइने उक्त उपन्यासमा नेपाली युवा र बंगाली युवतीबीचको अन्तरजातीय प्रेमलाई कथावस्तु बनाइएको छ ।

कृतिमा नेपाली, अंग्रेजी, बंगाली र संस्कृत गरी चार भाषाको प्रयोग भएको हुँदा लेखकले यसलाई ‘समावेशी उपन्यास’को संज्ञा दिनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि अग्रज पत्रकार तारा बराल, विशेष अतिथि चन्द्र भण्डारी, साहित्यकार रश्मिशेखर सुबेदी, साहित्यकार बिटु केसी बराल लगायतले कृति र कृतिकारको बारेमा चर्चा गर्नु भएको थियो ।

कृतिकार सापकोटाले साहित्यको ठूलो फुलबारीमा आफुले सानो फुल रोप्न पाएको भन्दै उपन्यास ‘नीलि’ले पाठकहरुलाई पर्खिरहेको बताउनुभयो ।

कृतिको समीक्षा गर्दै साहित्यकार बिटु केसी बरालले ‘नीलि’ महिला पात्र प्रधान रहेको उपन्यास भएको उल्लेख गर्दै पाठकलाई अन्तिमसम्म बाँधेर राख्ने सामथ्र्य कृतिमा रहेको बताउनुभयो ।

कृति लोकार्पण कार्यक्रममा साहित्यकार, पत्रकार, समाजसेवी तथा पारिवारिक नातेदारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञचालन पत्रकार केशव भट्टराईले गर्नुभएको थियो भने विशाल सापकोटाले स्वागत मन्तब्य मन्तब्य ब्यक्त गर्नु भएको थियो । बाइजुराज समिति धुलाबारीकी अध्यक्ष सरु घिमिरे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा कृतिकार गोपाल सापकोटा र उहाँकी जीवनसाथी उर्मिला सापकोटाले आफ्नो स्वर्ण विवाहोत्सका अवसरमा नेपाल पत्रकार महासंघ झापाको उपचार कोषमा २१ हजार १११ रुपैयाँ प्रदान गर्नुभएको थियो भने ५० जना सामाजिक अग्रजलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा ५० वटा दीप प्रज्ज्वलन गरिएको थियो ।