२० वैशाख २०८१, बिहिवार

मेचीनगर भन्छ–अभद्र व्यवहार भयो, सीसी क्यामेरा हेर्न थापाको चुनौति

१५ पुष २०८०, आइतवार
Image

मेचीनगर, १५ पुस । मेचीनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीमाथि भएको अभद्र व्यवहार सम्बन्धी घटनामा नगरपालिका र निर्माण व्यवसायी राजकुमार थापाको अलग अलग दावी आएको छ ।

थापाले गरे कार्यकक्षमै हुलहुज्जत : नगरपालिका

मेचीनगर नगरपालिकाका सूचना अधिकारी अशोक भेटवालका अनुसार शुक्रवार विहान ८ बजेदेखि नगरप्रमुख गोपाल बुढाथोकीको कार्यकक्षमा नगरपालिकाको बैठक बसिरहेको थियो । 

विहान १० बजेतिर निर्माण व्यवसायी राजकुमार थापाको नेतृत्वमा रहेको समूहले बैठक स्थलमै प्रवेश गरेर प्रमुख प्रशासकीय अधिकृत रेग्मीमाथि अभद्र व्यवहार गरेको थियो ।

बैठकस्थलमा नगरप्रमुख बुढाथोकी समेत उपस्थित थिए । त्यहाँ रहेका थापा पक्षधरले हुलहुज्जतसहित अभद्र व्यवहार गरेपछि स्थिति तनावग्रस्त भएको र प्रमुख प्रशासकीय अधिकृत रेग्मीलाई नगरप्रहरी लगायतले सुरक्षा दिएर जोगाएको उहाँको भनाई छ ।

नगरपालिकाको बैठकले अभद्र व्यवहारमा संलग्नहरुको किटानी नामसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने निर्णय गरेको उहाँले बताउनुभयो ।

लगत्तै प्रमुख प्रशासकीय अधिकृत रेग्मीले निर्माण व्यवसायी थापा लगायतलाई पक्राउ गरी कानूनी कार्वाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिनुभएको सूचना अधिकारी भेटवालले जानकारी दिनुभयो ।

सीसी क्यामेरा हेरौं : थापा

दमक निवासी निर्माण व्यवसायी राजकुमार थापाले प्रमुख प्रशासकीय अधिकृत रेग्मीमाथि आफुले अभद्र व्यवहार नगरेको र बरु उल्टै रेग्मीले आफुलाई अभद्र व्यवहार गरेको जिकीर गर्नुभएको छ ।

‘भ्याट कर तिरेर मैले नै बैधानिक रुपमा संकलन गरेको ढुंगाबालुवा लैजान किन नदिएको भनेर प्रश्न गरेको हो,’ थापाले भन्नुभयो– ‘त्यति भन्न पनि नपाउनु ? मैले अभद्र व्यवहार गरेँ कि उहाँ (रेग्मी)ले गर्नुभयो, सीसी क्यामेरा त होला नि, हेरौं न ?’

उहाँले अभद्र व्यवहार गरेको भनेर मिडियामा आफ्नो नाम उल्लेख गरिएकोमा समेत आपत्ति व्यक्त गर्नुभयो । 

आफुले विहीवार पनि प्रमुख प्रशासकीय अधिकृत रेग्मीसँग भेटेर ढुंगाबालुवा सम्बन्धी कानून बमोजिम निर्णय गरिदिनु पर्यो भनेर अनुरोध गरेको थापाले बताउनुभयो । 

विहीवारको भिडियो

विहीवार नगरपालिकाको परिसरमा सुरक्षाकर्मीकै अगाडि प्रमुख प्रशासकीय अधिकृत रेग्मीसँग निर्माण व्यवसायी थापाको भनाभन भएको भिडियो रेकर्ड प्राप्त भएको छ ।

उक्त भिडियोमा थापाले ढुंगाबालुवा सम्बन्धी नगरपालिकाले सही निर्णय लिन नसकेको आरोप प्रमुख प्रशासकीय अधिकृत रेग्मीमाथि लगाएको देखिन्छ ।

रेग्मीले चाहिँ थापाले बोलेको कुराको भिडियो आफ्नो मोवाइलबाट खिचिरहेको देखिन्छ । रेग्मीले थापाको अन्तरवार्ता लिए जस्तो देखिने यो भिडियो त्यहाँ उपस्थित अरुहरुले पनि खिँचेका थिए ।