२९ वैशाख २०८१, शनिवार

महोत्सवमा रु. ८५ लाखको जुत्ताचप्पल बिक्यो

२२ पुष २०८०, आइतवार
Image

झापा, २२ पुस  नेपाली जुत्ता चप्पल उद्योगी समूह र बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिले विर्तामोडमा आयोजना गरेको ‘प्रथम जुत्ताचप्पल व्यापार महोत्सव’मा दश दिनमा रु. ८५ लाखको विक्री कारोबार भएको छ ।

पुस ९ देखि माघ ९ गतेसम्म एक महिना महोत्सव सञ्चालन हुनेछ । महोत्सवमा दश दिनमा ६० हजार जनाले अवलोकन गरेको नेपाली जुत्ता चप्पल उद्योगी समूहका पूर्व अध्यक्ष होम उपाध्यायले बताउनुभयो ।

एक महिनामा एक लाख ५० हजार दर्शकलाई अवलोकन गराउने र रु. तीन करोडको जुत्ता चप्पल विक्री गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिका सञ्चालक उमेश राउतले महोत्सवमा आठ कम्पनीका १५ ब्रान्डका तीन हजार डिजाइनका जुत्ताचप्पल विक्रीका लागि राखिएको बताउनुभयो । रोयल सुज, बीएफ डियर हिल सुज, क्रसरोड सुज, फस्टवाक सुज, स्मार्ट सुज, डिजे सुज, टुरिस्ट सुज र रन सुज गरी आठ वटा कम्पनीले आफ्ना ब्रान्डका उत्पादनहरु महोत्सवमा राखेका छन् ।

पछिल्लो समय स्वदेशमा उत्पादित गुणस्तरीय जुत्ताचप्पलले अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गरिरहेको जनाउँदै नेपाली जुत्ता चप्पल उद्योगी समूहका पूर्व अध्यक्ष उपाध्यायले सामूहिक ब्रान्डिङ र शोरुमको अभ्यास थालिएको बताउनुभयो ।

महोत्सवमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ । हाम्रो जुत्ता घर नामक फेसबुक पेज लाइक गर्नेहरुलाई सामान खरिदमा दुई प्रतिशत ‘क्यास ब्याक’ अफर दिइएको आयोजकले जनाएको छ ।

क्रसरोड जुत्ता कम्पनीकी सेल्स मेनेजर टिका उप्रेतीले महोत्सवमा उत्साहजनक व्यापार भइरहेको बताउनुभयो । “दैनिक एउटा स्टलबाट रु. २५ हजारसम्म विक्री भइरहेको छ, आगामी दिनमा अझ बढ्ने आशा गरेका छौं”–उहाँले भन्नुभयो ।