२९ वैशाख २०८१, शनिवार

बीज वृद्धिमा सघाउने अर्जुनधारा सहकारीका तीन कृषक सम्मानित

२३ पुष २०८०, सोमवार
Image

शनिश्चरे, २३ पुस । अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो वार्षिक साधारणसभामा बीज वृद्धिमा योगदान पुर्याउनु भएको तीन जना किसानलाई पुरस्कृत गरिएको छ ।

पुरस्कृत हुनेहरुमा अर्जुनधारा–१ का लोकनाथ वाग्ले, अर्जुनधारा–७ का राजेन्द्रप्रसाद निरौला र अर्जुनधारा–४ का बेदप्रकाश घिमिरे हुनुहुन्छ ।

उपसभामुख इन्दिरा रानामगर र अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले कृषकहरुलाई दोसल्ला ओढाउनु भएको थियो भने संस्थाले नगद पुरस्कार समेत प्रदान गरेको थियो ।

अर्जुनधारा वडा नं. ८ मा मुख्य कार्यालय रहेको संस्था दुई वर्ष अघि नगरपालिकाका तत्कालीन नगरप्रमुख हरि रानाको पहलमा स्थापना भएको हो । नगरपालिकाले  आफ्नै सहकारी कानून बनाएर पहिलो संस्थाको रुपमा उक्त सहकारीलाई दर्ता गरेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि उपसभामुख राना हुनुहुन्थ्यो । सञ्चालक समिति सदस्य देवकला प्रसाईले स्वागत गर्नु भएको उक्त कार्यक्रमको सञ्चालन उपाध्यक्ष छत्र पौडेलले गर्नु भएको थियो । 

सहकारीका अध्यक्ष प्रत्युष आजाद रानाले संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै अर्जुनधाराका आम कृषकको हितमा समर्पित अग्रणी संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

संस्थामा एक हजार ७३ जना शेयर सदस्य र शेयरपुँजी रु. ३८ लाख २७ हजार ९०० रहेको छ भने निक्षेप संकलन रु. ७ लाख १५ हजार २५१ र जगेडा कोष रु. ५ लाख रहेको छ । 

नगरका ११ वटै वडामा उपसमिति, समूह, विषयगत समिति गठन गरी नगरपालिकाको कृषि शाखासँगको समन्वयमा कृषि प्रणालीलाई आधुनिकीकरण र व्यावसायिक बनाइने अध्यक्ष रानाको प्रतिवेदनमा उल्लेख छ ।

नगरको पशुपंछी विकास शाखा र नेपाल कृषि बजार कार्यक्रम विराटनगरको ५० प्रतिशत साझेदारीमा दुग्ध उद्योगको स्थापना भएको, धान पकेट क्षेत्र विकास र बीज बृद्धि कार्यक्रम अघि बढाइएको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा नगर उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष सूर्य खतिवडा, अर्जुनधारा उद्योग वाणिज्य संघका अध्यक्ष इन्दिवर खड्का, शनिश्चरे साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष भैरवबहादुर खड्कालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।