२५ वैशाख २०८१, मङ्गलवार

‘झापा इनर्जी’को उद्घाटन

बौद्धिक र श्रम शक्तिको पलायन रोक्नुपर्छ : अध्यक्ष ओली

२४ माघ २०८०, बुधवार
Image

झापा, २ माघ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशबाट पलायन भइरहेको बौद्धिक र श्रम शक्तिलाई रोक्न उद्यमशीलताको विकासमा राज्यले जोड दिनुपर्ने बताउनु भएको छ ।

झापामा नवनिर्मित दश मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना ‘झापा इनर्जी’को मंगलवार एक समारोहबीच उद्घाटन गर्दै उहाँले उद्यमशीलताको विकासका लागि ऊर्जा महत्त्वपूर्ण आधार हुने बताउनुभयो ।

“ब्रेन ड्रेन र मसल ड्रेनको जुन समस्या छ, त्यसलाई रोक्न मुलुकभित्रै रोजगारी सिर्जना हुने परियोजनाहरु स्थापना जरुरी हुन्छ”–उहाँले भन्नुभयो । मुलुकमा ६० प्रतिशत जनशक्ति श्रमयोग्य र ४० प्रतिशत जनशक्ति युवा भएको अवस्थामा जनसांख्यिक लाभ लिनका लागि उहाँले आफु प्रधानमन्त्री भएको बेला शैक्षिक प्रमाणपत्र र परियोजना धितो राखेर कर्जा लिन पाउने व्यवस्थाको सुरुवात गरेको स्मरण गर्नुभयो ।

उहाँले नेपालमा विकास हुनसक्छ भन्ने उदाहरण झापा इनर्जी रहेको उल्लेख गर्दै कृषि, ऊर्जा र प्रविधिमा फड्को मार्ने विकास आवश्यक भएको बताउनुभयो । नेपालमा जलविद्युत मात्र ऊर्जाको स्रोत भनेर बुझ्न नहुने जनाउँदै सौर्य र हाइड्रोजन ऊर्जाको सम्भावना खोज्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा झापा इनर्जी लिमिटेडका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य एलपी साँवाले परियोजनाबाट वर्षमा एक करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन र वर्षेनी रु. १२ करोड ८५ लाख आम्दानी हुने जानकारी दिनुभयो । परियोजना स्थललाई पुष्प बगैचाको रुपमा समेत विकास गरी आन्तरिक पर्यटन आकर्षित गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

झापा इनर्जी कोशी प्रदेशको सबैभन्दा धेरै क्षमताको सौर्य ऊर्जा परियोजना हो । संविधानसभाका सदस्य स्व. सुभाषचन्द्र नेम्बाङले दुई वर्ष अघि परियोजनाको शिलान्यास गर्नु भएको थियो । नेपाल विद्युत प्राधिकरणको शिवसताक्षीस्थित बुलुचोक सबस्टेसनमा उक्त सौर्य ऊर्जा जोडिएको छ ।

झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सञ्चालित झापा इनर्जी प्रालिबाट उत्पादित दश मेगावाट विद्युत नेपाल विद्युत प्राधिकरणको प्रशारण लाइनमा गत पुस ११ गतेबाट जोडिएको छ । पूर्वपश्चिम राजमार्गको दुधेबाट १० किलोमिटर दक्षिण गाउँमा २१ बिगाहा क्षेत्रफलमा परियोजनाकोसौर्य प्यानल राखिएको छ ।

झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य एलपी साँवाको नेतृत्वमा रु. ८७ करोडको लगानीमा चार वर्षअघि परियोजनाको निर्माण सुरु भएको थियो । परियोजनामा माछापुच्छ«े बैंक र सिभिल बैकको ७५ प्रतिशत वित्तीय साझेदारी र २५ प्रतिशत पब्लिक शेयर रहेको छ । 

झापा इनर्जी प्रालि र नेपाल विद्युत प्राधिकरणबीच २०७८ मंसिर १२ गते विद्युत खरिद सम्झौता भएको थियो । सम्झौता अनुसार परियोजनाबाट उत्पादित विजुली प्राधिकरणले प्रतियूनिट सात रुपैयाँ ३० पैसामा खरिद गर्ने भएको छ ।