२५ वैशाख २०८१, मङ्गलवार

होटलबाट हटाउन हुलहुज्जत र कुटपिट भयो : श्रेष्ठ

२९ माघ २०८०, सोमवार
Image

विर्तामोड, २८ माघ । साहित्यप्रेमी तथा व्यवसायी देबीभक्त श्रेष्ठले काँकरभिट्टामा सञ्चालन गर्दै आएको होटल हिकोला हेरिटेजबाट आफुलाई जबर्जस्ती हटाउने प्रयास भइरहेको बताउनु भएको छ ।

जबर्जस्ती हटाउने क्रममा होटलको व्यवस्थापन हेरिरहेका आफ्ना छोरा गौरव श्रेष्ठमाथि आक्रमण, कुटपिट र दूव्र्यवहार भएको उहाँले दावी गर्नुभयो ।

विर्तामोडमा दुई दशक अघिदेखि हिकोला होटल चलाउँदै आउनु भएको श्रेष्ठले २०७६ सालदेखि काँकरभिट्टाको बाहुनडाँगी रोडमा मेची नेत्रालय नजिक हिकोलाकै श्रृंखलाको रुपमा नयाँ होटल व्यवसाय सुरु गर्नु भएको थियो ।

होटल रहेको घर मेचीनगर–६ निवासी विष्णुमाया श्रेष्ठको नाममा रहेको छ । पाँच तलाको २५ कोठा भएको उक्त घरलाई १५ वर्षका लागि भाडामा लिएको हिकोला सञ्चालक श्रेष्ठले बताउनुभयो ।

‘हटाउनका लागि मान्छे लगाएर आक्रमण र हुलहुज्जत गरिरहेका छन्,’ उहाँले आइतवार साँझ यहाँ आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो–‘अझै १२ वर्ष त्यो घरमा होटल चलाउन पाउने सम्झौता छ । भाडा तिरेकै छु । मलाई ठूलो अन्याय भयो ।’

घरधनीका पक्षबाट आएका मानिसहरुले होटलमा बास बसेका पाहुनालाई माघ २५ गते राति हुलहुज्जत गरेर खेदेको र होटलका सञ्चालक समेत रहेका गौरव श्रेष्ठलाई निलडाम बस्नेगरी लछारपछार गरेको भिडियो फुटेज पत्रकार सम्मेलनमा देखाइएको थियो ।

उक्त भिडियोमा एक हुल मानिसहरु होटलमा पसेर होटलका सञ्चालक गौरव श्रेष्ठलाई लछारपछार पार्दै बाहिर निकालेको देखिन्छ ।

होटल सञ्चालक श्रेष्ठमाथिको आक्रमण माघ २८ गते विहान १० बजेपछि दोहोरिएको होटल पक्षको दावी छ । माघ २८ गतेको भिडियो फुटेज पनि पत्रकार सम्मेलनमा देखाइएको थियो । 

जसमा मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाई, नेकपा एमालेका नेता डिल्ली घिमिरे, नेकपा माओबादीका नेता माधव अर्याल लगायतको समूह होटलमा प्रवेश गर्नासाथ विवाद भएको देखिन्छ ।

विवादको क्रममा मोवाइलबाट भिडियो खिचिरहेका होटल सञ्चालक गौरव श्रेष्ठको मोवाइल खोसेर मेची उद्योग वाणिज्य संघका अध्यक्ष प्रसाईले फ्याकिदिएका थिए । सो घटनामा पनि होटल व्यवसायीमाथि हातपात भएको देखिन्छ । 

प्रसाई भन्छन्–‘विवाद मिलाउन गएका थियौंं’

मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईले होटल व्यवसायी पक्षमाथि हुलहुज्जत र आक्रमण गरेको आरोप अस्वीकार गर्दै आफुहरु विवाद मिलाउन गएको बताउनु भयो ।

होटल सञ्चालक र घरधनीबीच विवाद भएपछि मेचीनगर नगरपालिकाको न्यायिक समिति र जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । जिल्ला प्रशासनले मुद्धालाई न्यायिक समितिमै फर्काइदिएको थियो । न्यायिक समितिले विवाद साम्य बनाउन प्रसाईको संयोजकत्वमा डिल्ली घिमिरे, माधव अर्याल लगायतको एउटा सहजिकरण समिति गठन गरेको थियो ।

उक्त समितिलाई दुई पक्ष राखेर घरभाडा र घरधनीको लगानी हिसाब गरेर नगरपालिकामा प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

होटलमा सञ्चालक पक्षले गरेको लगानी हिसाब गर्नका लागि समितिले घर खाली गराउने क्रममा केही विवाद भएको प्रसाईले स्वीकार गर्नुभयो ।

माघ २५ गते राति होटलका पाहुना हटाएको र माघ २८ गते विहान भिडियो खिच्ने व्यक्तिको मोवाइल थुतेको उहाँले स्वीकार गर्नुभयो । ‘हामी विवाद मिलाउनका लागि नगरपालिकाले भने बमोजिम हिसाब किताब गर्न गएका थियौं,’ प्रसाईले भन्नुभयो–‘होटल सञ्चालकहरु न्यायिक समितिले छलफलका लागि बोलाउँदा पनि जानु हुँदोरहेनछ ।’

गौरव भन्छन्–‘हामी असुरक्षित भयौं’


व्यवसायी देबीभक्त श्रेष्ठका छोरा गौरव श्रेष्ठ भारतको मुम्बईमा होटल मेनेज्मेन्ट विषय पढेर स्वदेशमै केही गरौं भन्ने भावनाका साथ नेपाल फर्केर होटल व्यवसायमा लागेका युवा हुनुहुन्छ ।

काँकरभिट्टामा आफुले कोरोना महामारी पछिको आर्थिक मन्दीका बेला पनि धैर्य गरेर होटल व्यवसाय सञ्चालन गरिहेको उहाँ बताउनुहुन्छ । तर, अहिले व्यवसाय नै गर्न नदिने उद्देश्यका साथ आक्रमणका घटना गराउँदा आफु चिन्तित बनेको उहाँको भनाई छ ।

‘मध्यरातमा हुलहुज्जत गरेर गेस्ट निकाले, ममाथि कुटपिट गरेँ,’ उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो–‘स्थिति हेर्दा हाम्रो कुनै पनि बेला ज्यान जान पनि सक्छ । होटलको सीसी क्यामेरा अफ गरिदिएका छन् । हाम्रो परिवार असुरक्षित भएको छ ।’

हाल काँकरभिट्टाको हिकोला होटल घरधनीका पक्षधर व्यक्तिहरुले कब्जामा लिएको उहाँले दावी गर्नुभयो । भाडामा लिएपछि उक्त घरमा होटल चलाउन आफुहरुले रु. २ करोडभन्दा बढी संरचनागत लगानी गरेको श्रेष्ठको भनाई छ ।

आज दिउँसो १ बजे घरधनी पक्षले समेत आफ्ना कुरा सार्वजनिक गर्न धुलाबारीमा पत्रकार सम्मेलनको आयोजना गर्ने जानकारी प्राप्त भएको छ ।