१६ वैशाख २०८१, आइतवार

झापा गोल्ड कपको तयारी तीब्र, टिम र ट्रफी सार्वजनिक

१० फागुन २०८०, बिहिवार
Image

बिर्तामोड, १० फागुन । अर्ना छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी तीब्र रुपमा भइरहेको छ । 

बुधवार आयोजकले सहभागी टिम र ट्रफी  सार्वजनिक गर्यो  ।

खेल मैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरी टिम र ट्रफी सार्वजनिक गरिएको हो ।

झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियोगितामा ए डिभिजनसहित नेपालका १० टिमले भाग लिनेछन् ।

छैटौँ संस्करणमा आयोजकको तर्फबाट झापा ११ एफसीले सहभागिता जनाउने भएको छ । विभागीय टिमहरु त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी र नेपाल पुलिस क्लबले भाग लिने भएका छन् ।

चर्च ब्वाइज युनाइटेड एफसी, मछिन्द्र एफसी, एनआरटी एफसी र संकटा एफसीले पनि ाग लिने छन् ।

सर्लाहीको बागमती युवा क्लब र हेटौँडाको एन्फा मकवानपुरले समेत भाग लिनेजनाएका छन् । 

कार्यक्रममा अध्यक्ष बस्नेतसहित झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, गोल्ड कपका संरक्षक तथा झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक प्रवेश कटवाल, गोल्ड कपका सल्लाहकार मदनगोपाल सुब्बा, वरिष्ठ उपाध्यक्ष बलराम कार्की लगायतको सहभागिता रहेको थियो ।

रंगशालाको प्यारापिट बनाउने काम भइरहेको छ भने मैदान सिंगारेर  चिटिक्क पारिएको छ ।