२४ वैशाख २०८१, सोमवार

हिकोला होटल विवाद : घरधनीद्वारा अदालती आदेशको अवज्ञा

११ फागुन २०८०, शुक्रवार
Image

मेचीनगर, ११ फागुन । काँकरभिट्टास्थित होटल हिकोला हेरिटेजको सञ्चालन सम्बन्धी विवादमा अदालतले दिएको आदेशको अवज्ञा भएको छ ।

मेचीनगर नगरपालिकाको न्यायिक समिति र मेची उद्योग वाणिज्य संघको पहलले समाधान दिन नसकेपछि होटल सञ्चालक देवीभक्त श्रेष्ठ न्याय माग्दै उच्च अदालत जानु भएको थियो ।

उच्च अदालत बिराटनगरले फागुन ६ गते घरधनी विष्णुमाया श्रेष्ठको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै देवीभक्त श्रेष्ठलाई होटल सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

तर, घरधनी विष्णुमाया श्रेष्ठले अदालतको आदेशको अवज्ञा गर्दै उक्त होटल नियन्त्रणमा लिनु भएको छ । स्रोतका अनुसार घरधनीलाई मेचीनगर नगरपालिकाको न्यायिक समितिले चावी दिएर होटल चलाउन भनेको हो ।

घरधनी र होटल सञ्चालकबीच घरभाडा सम्झौता कार्यान्वयनका विषयमा विवाद छ । विवाद साम्य पार्न नगरपालिकाले मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाई, डिल्लीराम घिमिरे, सुरेन्द्र बुढाथोकी, माधव अर्याल, न्यायिक समितिका सदस्य कुन्दन निरौलासहितको एउटा मध्यस्थता समिति गठन गरेको थियो ।

सो समितिले प्रतिवेदन नबुझाउँदासम्मका लागि होटल बन्द गरेर ताला लगाउँदै आएको थियो । समितिले प्रतिवेदनसहित होटलको ताला नगरपालिकामा बुझाएको र नगरपालिकाले होटल चलाउँदै गर्नु भनी घरधनीलाई ताला बुझाएको स्रोतको भनाई छ ।

यता, होटल व्यवसायी देवीभक्त श्रेष्ठले अदालतको आदेश अवज्ञा भएको जनाउँदै त्यसविरुद्ध थप कानूनी उपचारमा जाने बताउनु भएको छ ।

अदालतले अल्पकालीन आदेश आएपछि होटल सञ्चालनको वातावरण बनाइपाउँ भनी आफु जिल्ला प्रशासन कार्यालय गएको र त्यहाँबाट जिल्ला प्रहरी कार्यालय हुँदै इलाका प्रहरी कार्यालयसम्म चिठी पुग्दा समेत अदालतको आदेश कार्यान्वयनको कुनै पहल नभएको उहाँले बताउनुभयो ।

बिगतमा विभिन्न समूहबाट हुलहुज्जत र आक्रमण समेत भएको हुँदा शान्ति सुरक्षाको वातावरण नबनेसम्म होटलमा जान सक्ने स्थिति नभएको जनाउँदै उहाँले नगरपालिका र उद्योग वाणिज्य संघलाई अदालतको निर्णयको सम्मान गर्न आग्रह गर्नुभयो । 

अदालतले के भनेको थियो ? 


उच्च अदालत बिराटनगरले काँकरभिट्टाको होटल हिकोला हेरिटेजको सञ्चालन सम्बन्धी विवादमा व्यवसायी देवीभक्त श्रेष्ठलाई होटल सञ्चालन गर्न दिन अल्पकालीन आदेश जारी गरेको थियो ।

अदालतका न्यायाधीश किरण पौडेलले उक्त आदेश जारी गर्नु भएको हो ।

व्यवसायी देवीभक्त श्रेष्ठले होटल सञ्चालन गर्नका लागि मेचीनगर–६ काँकरभिट्टामा स्थानीय विष्णुमाया श्रेष्ठको घर १५ वर्षका लागि लिखित सम्झौता गरी भाडामा लिनु भएको थियो । 

सम्झौता बमोजिम २०७६ मा भाडामा लिइएको उक्त घरमा होटल सञ्चालन भइरहेकै अवस्थामा घरधनी श्रेष्ठ र व्यवसायी श्रेष्ठबीच विवाद उत्पन्न भएपछि मध्यस्थता गर्न मेचीनगर नगरपालिकाले मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईको संयोजकत्वमा गठन गरेको समितिले होटलमा तालाबन्दी गरेको  थियो ।

सोही विषयमा घरधनी विष्णुमाया श्रेष्ठलाई विपक्षी बनाएर परमादेश र निषेधाज्ञा माग्दै व्यवसायी देवीभक्त श्रेष्ठ अदालत जानु भएको थियो । 

अदालतले मुद्धाका दुबै पक्षलाई छलफलका लागि बोलाउँदै यही फागुन १३ गते पेशी तोकेको छ । उक्त छलफल नहुञ्जेलसम्मका लागि रीट निवेदक श्रेष्ठलाई होटल चलाउन दिन अल्पकालीन अन्तरिम आदेश जारी भएको छ ।

अदालतले निवेदकको माग बमोजिम परामादेश र निषेधाज्ञा जारी किन नगर्ने भनेर घरधनी दिलमाया श्रेष्ठलाई १५ दिनभित्र अदालतमा जवाफ पेश गर्न समेत आदेश जारी गरेको छ ।