२५ वैशाख २०८१, मङ्गलवार

विर्तामोड उवासंघमा मतदान जारी, दुई प्यानलबीच प्रतिष्पर्धा

१४ फागुन २०८०, सोमवार
Image

झापा, १४ फागुन । विर्तामोडका व्यवसायीहरुले आज बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन गर्दैछन् ।

चुनावी कार्यक्रम अनुसार आज विहान ८ बजेदेखि अतिथि सदनमा मतदान भइरहेको छ । मतदान स्थलमा मतदाताहरु उत्साहपूर्वक भेला भएका छन् । मतदानस्थल बाहिर उम्मेद्वार र समर्थकको भीड छ ।

बेलुका ५ बजेसम्म मतदान हुने र त्यसपछि मतगणना हुने बताइएको छ । वाणिज्य संघमा ५६७३ जना मतदाता रहेका छन् ।

दुई प्यानलबीच प्रतिष्पर्धा

संघको नेतृत्व लिन राजनीतिक रुपमा धु्रवीकरण भएर दुई प्यानल बनेका छन् । नेकपा एमालेको नेतृत्वमा बनेको पाँच दलीय स्वतन्त्र प्यानलबाट अध्यक्ष पदमा अर्जुन मैनाली उम्मेद्वार बन्नु भएको छ भने नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदमा राजु न्यौपाने उम्मेद्वार बन्नु भएको छ । 

मैनाली नेतृत्वको प्यानललाई नेकपा एमाले, राप्रपा, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको समर्थन छ भने न्यौपाने नेतृत्वको प्यानललाई नेपाली कांग्रेस र एकीकृत समाजवादीले समर्थन गरेका छन् ।

मैनाली र न्यौपाने वर्तमान कार्यसमितिको क्रमशः महासचिव र वरिष्ठ उपाध्यक्ष हुन् । दुबै प्यानलले आफ्नो जितको दावी गरिरहेका छन् । 

यसपाली संघमा नेपाली कांग्रेसको परम्परागत किल्ला भत्किने स्वतन्त्र प्यानलको दावी छ । राजनीतिक रुपमा एकीकृत समाजबादी बाहेकका चार मुख्य दलहरु नेकपा एमाले नेतृत्वको प्यानलमा सामेल भएको र मतदाताको रुझान स्वतन्त्र प्यानलतिर देखिएको कारण यो चुनाव जित्ने स्वतन्त्र प्यानलको दावी छ ।

विर्तामोड उद्योग वाणिज्य संघमा विगतदेखि नेपाली कांग्रेस निकट मतदाताको बलियो पकड रहँदै आएको मानिन्छ । त्यही परम्परागत शक्तिको आधारमा लोकतान्त्रिक प्यानलले आफ्नो जित दोहोर्याउने दावी गर्दै आएको छ ।