२१ वैशाख २०८१, शुक्रवार

कला–साहित्यको संगमस्थल बन्यो कनकाई महोत्सव

१७ फागुन २०८०, बिहिवार
Image

झापा, १६ फागुन । धार्मिक तथा पर्यटकीय नगरको रुपमा परिचित मध्य झापाको कनकाई नगरपालिकाले साहित्य र कलालाई माया गर्ने थलोको रुपमा आफुलाई चिनाउने जमर्को गरेको छ । पहिलोपल्ट कला–साहित्य उत्सवको सफलतापूर्वक आयोजना गरेर नगरले नयाँ पहिचान थपेको हो ।

रोटरी क्लव अफ कनकाईको आयोजनामा फागुन १४ देखि १६ गतेसम्म कनकाईको व्यापारिक केन्द्र सुरुंगामा कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव सम्पन्न भएको छ । जहाँ स्थानीयदेखि राष्ट्रिय स्तरका स्रष्टाहरुले आफ्ना सिर्जनाहरु प्रस्तुत गर्ने अवसर पाए ।

वरिष्ठ अभिनेता नीर शाहको आगमनबाट सुरु भएको महोत्सवको आज समापन समारोहलाई नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य तुलसी दिवशले सम्बोधन गर्नु भएको थियो । उहाँले कनकाईले साहित्य र कलाको महत्व बुझेर महोत्सव आयोजना गरेकोमा खुशी प्रकट गर्नुभयो ।

समापनको अवसरमा राष्ट्रिय कविहरुको जमघटले आकर्षण बढाएको थियो । प्रसिद्ध कविहरु अर्जुन पराजुली, कुन्ता शर्मा, लक्ष्मण गाम्नागे, मनु मञ्जिल, डा. देवी नेपाल, धिरेन्द्र प्रेमर्षी, माया मानवी लगायतले आज आफ्ना कविता बाचन गर्दा दर्शक दीर्घाबाट वाहवाही पाएका थिए ।

रोटरी क्लव अफ कनकाईका अध्यक्ष शिव कँडेलले पहिलोपल्ट सुरुंगामा साहित्य र कलाको संरक्षण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको जनाउँदै दर्शक र पाहुनाको सहभागिता उत्साहजनक रहेको बताउनुभयो । उहाँले आगामी वर्ष महोत्सवलाई कुनै न कुनै रुपमा निरन्तरता दिइने बताउनुभयो ।

महोत्सवमा राष्ट्रियता झल्काउने सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएको रोटरी क्लव अफ कनकाईका पूर्वअध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय जातिहरूको भेषभूषा, नृत्य र झाँकी प्रस्तुत गरिएको उहाँले बताउनुभयो । 

तीन दिनसम्म एक दर्जनभन्दा बढी कार्यक्रमहरू महोत्सवमा सम्पन्न भएका छन् । प्रसिद्ध कलाकार मनोज गजुरेल जस्ता सांगीतिक हस्तीदेखि गायिका रचना रिमाल लगायतका नवोदित कलाकारसम्मको उपस्थितिले कार्यक्रमको रौनक बढाएको थियो । नयाँ पुस्ताको आकर्षणले यो महोत्सव भब्य र सफल बनेको आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले बताउनुभयो । 

नयाँ पुस्तालाई सिकाउने लक्ष्य राखेर ६ देखि १२ वर्ष उमेर समूहका विद्यार्थीलाई चित्रकला र कविता लेखनका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा पुस्तक मेला र पुस्तक डोनेसन स्टल समेत राखिएको थियो ।

महोत्सवको अर्को आकर्षण कला प्रदर्शनी रहेको थियो । चित्रकार हिम्मत नेम्वाङ्ग र व्यंग्य चित्रकार पवन राजबंशीको चित्र तथा मूर्तिकलाको त्यहाँ प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा अवलोकनकर्ताको ओइरो लागेको थियो ।

बिगत दुई दशकदेखि कला क्षेत्रमा समर्पित नेम्वाङ्गका ४० वटा तेल चित्र, छाम्ने चित्र र मूर्ति कला प्रदर्शनीमा राखिएका थिए । आँखा देख्न नसक्नेहरुले पनि छामेर थाहा पाउन सक्ने एक दर्जन चित्रहरु प्रर्दशनीमा थिए । कार्टुनिस्ट राजबंशीका दुई दर्जन व्यंग्य चित्रहरु प्रदर्शनीमा थिए ।

कार्यक्रमको अध्यक्षता रोटरी क्लव अफ कनकार्इका अध्यक्ष शिव कँडेल र सञ्चालक बिनिता मैनाली र सरोज भट्टराई हुनुहुन्थ्यो । सो अवसरमा अग्रज साहित्यकार कोमलप्रसाद पोखरेलले आफ्नो कविता वाचनसहित मन्तब्य ब्यक्त गर्नु भएको थियो ।