२३ वैशाख २०८१, आइतवार

झापा गोल्डकपको उद्घाटन आज

१९ फागुन २०८०, शनिवार
Image

झापा, १९ फागुन । जिल्लाको गौरव मानिएको ‘झापा गोल्डकप’को छैठौं संस्करण आज सुरु हुँदैछ । 

बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा सभामुख देबराज घिमिरेले प्रतियोगिताको उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

उद्घाटन खेल एपीएफ र संकटाबीच हुने बताइएको छ । उद्घाटन अवसरमा गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको सांगीतिक प्रस्तुति रहनेछ । 

झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले प्रतियोगितालाई मर्यादित, उत्कृष्ट, भब्य र सफल बनाउन अपिल गर्दै उपस्थितिका लागि अनुरोध गर्नु भएको छ । सबैको सहयोगबाट गोल्डकप सफल हुने उहाँले विश्वास व्यक्त गर्नु भएको छ ।

एघार हजार अट्ने प्यारापिट

गोल्डकप हेर्नका लागि ११ हजार दर्शक अटाउने बाँसको आकर्षक प्यारापिट तयार गरिएको छ । 

दर्शकले प्रतियोगिता हेर्न टिकट लिनु पर्नेछ । सेमीभन्दा अघि टिकट रु. २ सय, सेमीमा रु. ३ सय र फाइनलमा रु. ४ सय टिकट दर निर्धारण गरिएको छ । 

प्रतियोगितामा यती बु्रअरी मुख्य प्रायोजक रहेको छ । ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । 

गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ । गोल्डकपको विजेताले नगद रु. १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ । झापा गोल्डकपको छैटौँ संस्करण सम्पन्न गर्न रु. एक करोड ४० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।