२३ वैशाख २०८१, आइतवार

झापा गोल्डकप ः उद्घाटन खेलमा एपीएफ क्लव विजयी

१९ फागुन २०८०, शनिवार
Image

बिर्तामोड, १९ फागुन । टाइब्रेकरमा भाग्यमामनी सावित हुँदै एपिएफ फुटबल क्लब छैटौँ संस्करणको झापा गोल्ड कपको उद्घाटन खेलमा विजयी भएको छ ।

संकटा फुटबल क्लब काठमाडौँलाई ४–२ गोल अन्तरले पराजित गर्दै एपिएफले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । एपिएफका लागि दिपेश धिमाल, फोडे फोफोना, कुलदिप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए । संकटाका चन्दन दास र यमनबहादुर पुत्वारको प्रहारले मात्र जाली चुमेको थियो ।

संकटाका अजित लामाको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरेका थिए भने मौसम सुब्बाको प्रहार गोलपोस्टमा लागेर फर्कियो । खेलको चौथो मिनेटमै एपिएफले अग्रता लिने अवसर गुमाएको थियो ।

फोडे फोफोनाको क्रसमा पेनाल्टी एरियामा अनमार्क रहेका बुद्धिमान राईले गोल गर्न सकेनन् । उनको प्रहार क्रस बार नजिकैबाट बाहिरियो । १३ औँ मिनेटमा १८ यार्डबाट अनिस महर्जनको प्रहार आकासियो । २० मिनेटमा अनिसकै प्रहार गोल रक्षकले विफल बनाए । २४ औँ मिनेटमा कुलदिप कार्कीको पासमा गोल पोस्ट नजिकै रहेका अनिसको हेडर बाहिरियो । ५५ औँ मिनेटमा एपिएफका अनिस रानाले पेनाल्टी एरियाबाट गरेको कडा प्रहार संकटाका गोलरक्षक निशान रानाले पञ्च गरेर बचाए । ७६ औँ मिनेटमा एपिएफका प्रदिप लामाको प्रहार बारको केही नजिकबाट बाहिरियो ।

अतिरिक्त समयमा दिपेश धिमालले मैदानको मध्यभागबाट गरेको कडा प्रहार संकटाका गोलरक्षकले मुस्किलले पञ्च गरेर बताए । खेल अवधिभर गोल गर्ने थुप्रै अवसर बनाएको एपिएफले निर्धारित समयमा गोल गर्न नसक्दा खेलको निर्णय टाइब्रेकरमा गएको थियो । ३४ औँ मिनेटमा संकटाका चन्दन दासले गरेको शक्तिशाली प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए ।

६० औँ मिनेटमा संकटाका कप्तान गणेश हमालको हेडर एपिएफका गोलरक्षकले बचाए । खेलको प्लेयर अफ द म्याच एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताको विजेताले नगद १३ लाख, उपविजेताले ७ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

आइतबारको खेल नेपाल पुलिस क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुने आयोजकले जनाएको छ । शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ । प्रतियोगितामा नेपालका ए डिभिजनसहित १० टिमको सहभागिता रहेको छ ।