२२ वैशाख २०८१, शनिवार

प्लाईउडमा नयाँ कानून लगाउने म्याद थप्न भारत लचिलो

२३ फागुन २०८०, बुधवार
Image

झापा, २३ फागुन  नेपालबाट निकासी हुने प्लाइउड (काठको प्रशोधित पाता)मा इन्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आईएसआई) मापदण्ड लागू हुने म्याद थप्न भारत सरकार केही लचिलो बनेको छ । 

आईएसआई प्रमाणित नभएका नेपाली प्लाइउडलाई गत फागुन १६ गतेपछि भारतमा जान नदिने भारत सरकारले छ महिनाअघि निर्णय गरेपछि नेपालका प्लाइउड उत्पादकहरु चिन्तित बनेका थिए ।

नेपाल सरकारले आईएसआई प्रमाणपत्रका लागि प्रक्रिया पूरा गर्न समय लाग्ने जनाउँदै भारत सरकारलाई कडाई नगरिदिन दवाव बढाएपछि भारतले लचिलो हुँदै आगामी छ महिनाका लागि म्याद थपिदिएको मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले बताउनुभयो ।

“प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख राजनीतिक दलका नेताहरुलाई भेटेरै भारतले नेपाली प्लाईउड रोक्ने नयाँ नीति लागू गरेको अवगत गरायौं,” संघका अध्यक्ष प्रसाईले भन्नुभयो–“वर्षेनी अर्बौंको विदेशी मुद्रा आर्जन हुने प्लाईउड निर्यात रोकिएमा ठूलो क्षति हुने विषयमा उहाँहरु पनि चिन्तित हुनुभयो । नेपाल सरकार र व्यवसायीहरुको दवाव बढेपछि भारत सरकारले थप ६ महिनाको म्याद दिएको हो ।”

भारत सरकारले हालै आफ्नो राजपत्रमा नयाँ सूचना जारी गर्दै नेपालको प्लाईउड भारतमा विक्री गर्नका लागि आईएसआई प्रमाणपत्र लागू हुने म्याद फेब्रुअरी २९ तारिखबाट छ महिना बढाएर अगस्टसम्म पुर्याएको हो । आगामी सेप्टेम्बरदेखि आईएसआई प्रमाणपत्र र चिह्न नभएका नेपाली प्लाईउडलाई भारतले आफ्नो देशमा लैजान अनुमति दिनेछैन ।  

नेपाल भेनियर उत्पादक संघका उपाध्यक्ष श्याम न्यौपानेले भारतले थपेको ६ महिनाले समस्या टरेको नभएर केहीपर धकेलिएको मात्र बताउनुभयो । उहाँले नेपालका भेनियर उद्योगहरु आईएसआईमा दर्ताका लागि प्रयासरत् रहेको जानकारी दिनुभयो । आईएसआई सर्टिफिकेट नलिई अब निकासी सम्भव नहुने भयो भनेर नेपालका उद्योगहरु धमाधम आईएसआई दर्ताको प्रक्रियामा लागेको उहाँले बताउनुभयो । 

के हो आईएसआई ?

आईएसओ भनेको अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त गुणस्तर मापदण्ड हो । त्यस्तै आईएसआई भनेको भारत सरकारको गुणस्तर मापदण्ड हो । भारतले आईएसआई मापदण्ड पूरा नभएका विभिन्न विदेशी सामानलाई उसको मुलुकमा आयातको अनुमति दिदैन ।

भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालय अन्तर्गत रहेको व्यूरो अफ इन्डियन स्टेन्डर्सले आईएसआई चिह्न र प्रमाणपत्र जारी गर्दछ । भारतले नेपाल लगायतका केही छिमेकी मुलुकलाई उक्त गुणस्तर मापदण्ड बेगर नै यसअघि प्लाईउड आयातको अनुमति दिदै आएको थियो । हाल आएर भारत सरकारले नेपाली प्लाईउडलाई कडाई गर्दै गुणस्तर मापदण्डको दायरामा ल्याएको हो ।

मेची उद्योग वाणिज्य संघका अध्यक्ष प्रसाईका अनुसार आईएसआई गुणस्तर चिह्न र प्रमाणपत्र प्राप्त गर्नका लागि सुरुमा आफ्नो उद्योगमा गुणस्तर प्रयोगशाला स्थापना गर्नुपर्दछ । उक्त प्रयोगशालाले गुणस्तरीय सामान उत्पादनका लागि मदत गर्दछ ।

नेपालमा उत्पादित प्लाईउडको नमुना भारतको पटना, दिल्ली र कोलकातामध्ये जता नजिक हुन्छ, त्यहाँको प्रयोगशालामा पठाएर परीक्षण गराउनु पर्ने झञ्झट थपिएको प्रसाईले जानकारी दिनुभयो । नेपालमा उच्चकोटीको प्रयोगशाला नभएको कारण देखाउँदै भारतले आफ्नै मुलुकको प्रयोगशालामा गुणस्तर जाँच्नु पर्ने बाध्यता सिर्जना गर्दै आएको उहाँले बताउनुभयो । आईएसआई चिह्न र प्रमाणपत्रका लागि उद्योगमा प्रयोगशाला स्थापना गर्दा रु. २० लाखभन्दा बढी आर्थिकभार थपिने उहाँले जानकारी दिनुभयो ।

वर्षेनी दुई अर्बको निर्यात

नेपालबाट वर्षेनी रु. दुई अर्ब मूल्यको प्लाईउड भारततर्फ निकासी गर्दै आएको छ । गुणस्तरको बहानामा भारतले प्लाईउड निर्यात रोकेमा पूर्वी नेपालको झापा, मोरङ, सुनसरी र इलाममा सञ्चालित दर्जनौं भेनियर उद्योग बन्द हुनेछन् । त्यहाँ कार्यरत ६० हजारको रोजगारी गुम्ने छ ।  

मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार गतबर्ष पूर्वी नाकाबाट रु. एक अर्ब ९९ करोड मूल्य बराबरको प्लाइउड भारत निर्यात भएको थियो । व्यवसायीहरुले प्लाइउडको कच्चा पदार्थ निर्यात गर्दा प्रति केजी रु. ६ र तयारी प्याइउड पठाउँदा रु. ११३ को दरले भन्सार महसुल तिर्दै आएका छन् । 

नेपाल भेनियर उत्पादक संघका उपाध्यक्ष न्यौपानेका अनुसार कोशी प्रदेशमा करिब ८० वटा र झापामा मात्र ३२ वटा भेनियर उद्योग सञ्चालनमा छन् ।