१९ वैशाख २०८१, बुधवार

सीमाबासीको गुनासो सुन्न सशस्त्र प्रहरीले थाल्यो पैदल यात्रा

७ चैत २०८०, बुधवार
Image

झापा, ७ चैत । सशस्त्र प्रहरी वलले सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्नका लागि संयुक्त सीमा पैदल यात्रा सुरु गरेको छ । ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ नामक अभियान अन्तर्गत उक्त यात्रामा सुरक्षाकर्मी र जनप्रतिनिधिहरुले सीमाका बासिन्दासँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछन् ।

आज विहान मेचीनगर–७ सतिघट्टास्थित ९१÷१ नम्बरको सीमा स्तम्भबाट सुरु भएको उक्त यात्रामा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती, नेपाली सेनाका गणपति प्राजु बस्न्यात, सशस्त्र प्रहरी बल २ नं. गणका गणपति कविन्द्र राई, नेपाल प्रहरीका प्रहरी उपरीक्षक मिलन केसी लगायत स्थानीय वडाका जनप्रतिनिधि र सीमाबासी सहभागी हुनुहुन्छ ।

झापा जिल्लामा बाहुनडाँगीदेखि गौरीगञ्जसम्म १४४ किलोमिटर लामो सीमा क्षेत्र छ । हरेक किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा पोस्ट राखेर सीमाको निगरानी गरिरहेको छ । झापा जिल्लासँग अन्तर्राष्ट्रिय सीमा जोडिएको क्षेत्रलाई चार भागमा विभाजन गरी चैत महिनाभरि संयुक्त सीमा पैदल यात्रा सञ्चालन गरिने जनाइएको छ । 

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले सीमामा बासिन्दाहरु वास्तविक सीमा रक्षक भएको हुँदा उनीहरुको गुनासाको सम्बोधन गर्न राज्य सकारात्मक रहेको बताउनुभयो । उहाँले सीमामा तैनाथ सुरक्षाकर्मीहरुलाई उच्च मनोबलका साथ खट्न निर्देशन समेत दिनुभयो ।

सशस्त्र प्रहरी दिवसको अवसर पारेर सशस्त्र प्रहरी बलले सीमाका बासिन्दासँग सहकार्य अघि बढाउने उद्देश्यले ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ नामक अभियान घोषणा गरेको थियो । अभियानका क्रममा सीमाबासीलाई आर्थिक, सामाजिक र शैक्षिक सहयोग पुर्याइने सशस्त्र प्रहरी बल २ नं. गणका गणपति कविन्द्र राईले जानकारी दिनुभएको छ ।

उक्त सहयोग सशस्त्र प्रहरी बलको कल्याणकारी कोषबाट उपलब्ध गराइने बताइएको छ । सीमा क्षेत्रमा बसोबास गर्ने आदिबासी, अल्पसंख्यक, जनजाति, दलित र विपन्न समुदायलाई सहयोगमा प्राथमिकता दिइने उहाँले बताउनुभयो । 

जसअन्तर्गत सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने १५ जनालाई वार्षिक रु. १२ हजारका दरले शैक्षिक छात्रवृत्ति र दुई जनालाई नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म निःशुल्क अध्ययनको व्यवस्था गरिने जानकारी दिइएको छ ।

सीमा लक्षित वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने र अन्तर्राष्ट्रिय सीमामा परिचालित सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई वार्षिक ४ प्रतिशत ब्याजदरमा रु. ५ लाखदेखि १० लाखसम्म सहुलियतपूर्ण आवास कर्जा उपलब्ध गराउने कार्यक्रम रहेको जनाइएको छ ।

झापाको अन्तर्राष्ट्रिय सीमा जोडिएका २१ वटा वडामा सीमा सहजिकरण समिति गठन गरिएको छ । भौगोलिक सीमारेखाको सुरक्षाका साथै अन्तरदेशीय अपराध र अबैध गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरी वलले वास्तविक सीमा रक्षकको भूमिकामा रहेका सीमाका बासिन्दासँग हार्दिक सहकार्य गर्ने नीति लिएको गणपति राईले बताउनुभयो ।