१८ वैशाख २०८१, मङ्गलवार

कोशी प्रदेशमा तीन महिनामा ४८८ आगलागी, १२ जनाको मृत्यु

८ चैत २०८०, बिहिवार
Image

झापा, ८ चैत । सुख्खा याम सुरु भएसँगै आगलागीका घटना बढेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयले बिगत तीन महिनामा कोशी प्रदेशका १४ जिल्लामा आगलागीका ४८८ घटना भएको जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक पोखरेलका अनुसार पुस १ गतेदेखि चैत ८ गतेसम्मको तीन महिनामा कोशी प्रदेशमा आगलागीबाट १२ जनाको मृत्यु र २४ जना घाइते भएका छन् । 

विद्युत सर्ट, ग्यास चुहावट, भान्सा र गोठको आगो नियन्त्रण बाहिर जाँदा आगलागीका घटना हुने गरेका छन् । स्थानीय जंगलमा पनि डढेलो लाग्ने गरेको छ । पहाडी बनमा डढेलो नियन्त्रण बाहिर गएमा मानव वस्तीमा समेत आगलागी हुने गरेको छ ।  

चैत ३ गते भोजपुरको हतुवागढी गाउँपालिका वडा नं. ७ मा आगलागी हुँदा एकै परिवाका तीन बालबालिकाको मृत्यु भयो । मृत्यु हुनेमा तीन वर्षीय देउनिस कार्की, पाँच वर्षीय प्रनिस कार्की र सात वर्षीया दिप्तिका कार्की रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलबहादुर राईले बताउनुभयो । 

“आमाबुवा खेतबारीमा काम गर्न जानु भएको रहेछ,” प्रहरी निरीक्षक राईले घटना बारे जानकारी दिदै भन्नुभयो–“गोठबाट सल्किएको आगोले घरमा खेलिरहेका बालबालिकालाई लपेटेछ । उनीहरु भाग्नै सकेनन् ।” 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीका अनुसार झापामा बितेको दुई सातामा आगलागीका दुई दर्जन घटना भइसकेका छन् । 

झापाको गौरीगञ्ज गाउँपालिका वडा नं. १ का ५५ वर्षीय निलकण्ठ घिमिरेको बुधवार तरकारी बारीमा सल्किएको आगोले जलेर घटनास्थलमै मृत्यु भयो ।  गत पुस १ गते धनकुटा नगरपालिका वडा नं. ५ कर्मीटारमा गोठमा खोले पकाउने चुलोबाट सल्केको आगोले विश्वबन्धु थापा र काजीनारायण श्रेष्ठको घर, गोठ जलेर एकैछिनमा रु. ११ लाखको क्षति भयो ।

फागुन २८ गते मेचीनगर नगरपालिका वडा नं. १५ मा रहेको देशकै ठूलो प्लाइउड कारखाना भगवती लेमिनेट्स् प्रालिमा भीषण आगलागी हुँदा रु. १५ करोडको क्षति भएको छ । काठको गोलियामा सल्किएको आगो निभाउन नेपालका ८ वटा र भारतको एउटा दमकललाई तीन दिन लागेको थियो । 

यही चैत २ गते झापाको रतुवामाई वृक्षारोपण आयोजनामा भीषण डढेलो लागेको थियो । आयोजनाको धरमपुर, केर्खा र झिलझिले नजिक बनमा लागेको आगो निभाउन आयोजनाले त्यति चासो नदेखाएको सथानीयबासीको आरोप छ ।  

घरको भान्सा, परालको कुन्यू र चुरोटको ठुटाबाट समेत आगलागीका दुर्घटना निम्तिने गरेका छन् । बालबालिकाले सलाई र लाइटर जस्ता आगो निस्कने बस्तु खेलाउँदा कतिपय आगलागी भएका छन् ।