२५ कार्तिक २०८१, आइतवार

बयान लगत्तै श्रीलंका उडे विनोद चौधरी

८ चैत २०८०, बिहिवार
Image

झापा, ८ चैत । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी सीआईबीमा बयान दिए लगत्तै श्रीलंका उडेका छन् । 

बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका उडेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार चौधरी बिहीबार दिउँसो १ः५७ को श्रीलंकन एयरलाइन्सको विमानमार्फत श्रीलंका गएका हुन् ।

उनी नियमित कामको शिलशिलमा विदेश गएका हुन् । चौधरी ग्रुपका महाप्रबन्धक मधुसुधन पौडेलका अनुसार चौधरीको प्रत्येक महिनाको २५ दिन जति स्वदेश वा विदेशको कामले बाहिर जानुपर्ने हुन्छ । ‘४० वर्षदेखि उहाँ यसैगरी विदेश जाने, आउने गर्नुहुन्छ । यो त्यसकै निरन्तरता हो ।’ पौडेलका अनुसार चौधरीको तीन दिनअघि नै श्रीलंका जाने कार्यतालिका थियो । काम विशेषले रोकिएका उनी आज गएका हुन् ।

चौधरीसँग सरकारी वकील कार्यालय काठमाडौंमा बिहीबार बिहान ८ बजेदेखि बयान लिइएको थियो । सरकारी वकील र सीआईबीका अधिकारीहरूको रोहबरमा चौधरीको बयान भएको थियो ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी समूहले आफ्नो बनाएको आरोप लागेपछि उनीमाथि अनुसन्धान अघि बढाइएको छ । चौधरीले भने इन्कारी बयान दिएका छन् । उनले कानुन बमोजिम नै जग्गा खरिद गरिएको दाबी गरेका छन् ।

बाँसबारी जग्गा प्रकरणमा १८ माघमा सीआईबीले विनोदका भाइ, सीजी चाँदबाग रेसिडेन्सीका सञ्चालक अरुण चौधरी, अध्यक्ष सञ्जय ठाकुर र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेर बयान लिएको थियो । उनीहरू अदालतको आदेशपछि २४ माघमा रिहा भएका थिए ।

सम्बन्धित खबर