२१ वैशाख २०८१, शुक्रवार

झापाकै पुरानो कालिस्थान गुम्बा ओझेलमा

९ चैत २०८०, शुक्रवार
Image

शनिश्चरे, ९ चैत । झापाको अर्जुनधारा ९ स्थित कालिस्थान बौद्ध गुम्बा समितिले गुम्बाको विकासमा सघाउन सरोकारवाला सबैलाई अपिल गरेको छ । झापाको सबैभन्दा पुरानो गुम्बा भएपनि यसको विकासमा पर्याप्त सहयोग जुट्न नसकेको जनाउँदै समितिले सहयोग गर्न सबैलाई अनुरोध गरेको हो ।

बौद्ध धर्मावलम्बीहरूको आस्था र विश्वासको प्रतीकका रुपमा रहेको यो बौद्ध गुम्बामा अहिले पूजा अर्चना भइरहेको छ । समितिको व्यवस्थापनमा महातारा देवी डोल्माको पूजा अर्चना भइरहेको हो । 

पर्याप्त भौतिक पूर्वाधार नभएपनि सम्पत्तिका हिसाबले यो गुम्बा धनी छ । पर्याप्त जग्गा जमिनसहित रहेको गुम्बाको विकासका लागि राज्यले सहयोग नगरेको समितिले जनाएको छ ।

बौद्ध धर्मावलम्बीहरूको आफ्नै सहयोग र सद्भावका कारण गुम्बा सञ्चालन भइरहेको हो । आम्दानीको स्थायी स्रोत व्यवस्थापन गर्न समस्या भए पनि स्थानीयको सहयोगमा गुम्बा सञ्चालन भएको समितिका अध्यक्षले बताउनुभयो।

स्थानीय समाजसेवी दलमान तामाङको उदारताको पृष्ठभूमिमा यो बौद्ध गुम्बा निर्माण भएको हो । बौद्ध गुम्बालाई उहाँले १९ कट्ठा जग्गा दान दिनुभएको थियो।

अघिल्लो पुस्ताले परम्परागत जातीय संस्कृति संरक्षणमा जति संवेदनशीलता देखाएको छ, पछिल्लो पुस्ता त्यसका लागि तयार नभएको हो कि भन्ने चिन्ता पनि उत्तिकै छ ।  युवाहरुले आफ्नो जातीय संस्कृति र परम्परालाई जगेर्ना नगर्ने हो भने आगामी दिनमा अस्तित्व नै संकटमा पर्ने भएकाले परम्पराको संरक्षणमा लाग्नैपर्ने बेला आएको दाता परिवारका सदस्य समेत रहेका स्थानीय युवा बताउनुहुन्छ ।

कालिस्थान बौद्ध गुम्बालाई संरक्षण गर्दै जातीय परम्परा र संस्कृतिको जगेर्नामा लाग्न समितिले सरोकारवाला सबैलाई अनुरोध पनि गरेको छ ।