२१ वैशाख २०८१, शुक्रवार

घुसपैठ गरेका नाइजेरियनलाई अध्यागमन विभाग पठाइयो

९ चैत २०८०, शुक्रवार
Image

झापा, ९ चैत । पूर्वीनाका काँकडभिट्टाबाट पाँच किलोमिटर उत्तर सीमा क्षेत्रबाट भारतीय नागरिकको मोटरसाइकल चढेर अनाधिकृत ढंगले नेपाल प्रवेश गरेका एक नाइजेरियन नागरिक पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीले पक्राउ गरेका नाइजेरियनलाई अनुसन्धान र कार्वाहीका लागि काठमाडौंस्थित अध्यागमन विभाग पठाइएको छ ।

मेचीनगर नगरपालिका–१ बाहुनडाँगीस्थित सीमा हुँदै भारतबाट डब्ल्यूबी ७४०७०५८ नम्बरको भारतीय मोटरसाइकलमा पछाडि बसेर नेपाल प्रवेश गरेका नाइजेरियन नागरिक ३२ बर्षीय अनेकोर सिमोन ओगुचुकुलाई सीमामा तैनाथ सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले विहीवार नियन्त्रणमा लिएका थिए ।

नाइजेरियन नागरिकलाई अनाधिकृत रुपमा नेपाल घुसपैठ गराउन मदत गरेका भारतीय नागरिक ३० बर्षीय सनम राईलाई समेत पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर हेडक्वाटर कार्यालय चन्द्रगढीका प्रमुख कविन्द्र राईले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि विहीवार अध्यागमन कार्यालय काँकडभिट्टामा बुझाइएको थियो । पक्राउ परेका नाइजेरियन नागरिकको साथबाट भारतीय रु. चार हजार ५००, दुई थान मोवायल, एक थान एनआइसी एसियाको एटीएम र नाइजेरियन पासपोर्ट बरामद भएको जनाइएको छ । भारतीय नागरिक राईको साथबाट एक थान मोबाइल, भारतीय बैंकको एटीएम र भारतीय रु एक हजार ४२० फेला परेको छ ।

अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले अनाधिकृत रुपमा नेपाल प्रवेश गरेका नाइजेरियन नागरिक र उनलाई नेपाल प्रवेश गराउन सहयोग पुर्याएका भारतीय नागरिक गरी दुबै जनालाई आवश्यक कार्वाहीका लागि काठमाडौंस्थित अध्ययागमन विभागमा पठाइएको जानकारी दिनुभयो ।

“अध्यागमन विभागबाटै आवश्यक अनुसन्धान र कार्वाही हुने भएकोले उहाँहरुलाई काठमाडौं पठाइसकेका छौं”– पनेरुले भन्नुभयो । पक्राउ परेका नाइेरियन नागरिकको प्रवेशाज्ञा (भिसा)को म्याद समेत गुज्रिसकेको पाइएको उहाँले बताउनुभयो ।

पर्यटक आगमनमा अवरोध

कोभिड–१९ को महामारीका कारण भएको बन्दाबन्दीपश्चात पूर्वीनाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्न चाहने भूटानी नागरिक बाहेक तेस्रो मुलुकका नागरिकलाई भारतले अनुमति दिएको छैन । 

नेपाली पर्यटन व्यवसायीहरुले पूर्वीनाकाबाट तेस्रो मुलुकका नागरिकलाई कानूनी रुपमा नेपाल प्रवेशका लागि अनुमति दिनका लागि भारतीय सरकारसँग पहल गरिनु पर्ने माग गर्दै आएका छन् ।

कोभिड–१९ को महामारीका बेला २०७६ चैत ११ गतेदेखि बन्द भएको पर्यटक आवतजावत भारतले अहिलेसम्म खुला नगरिदिदा पूर्वी नेपालको पर्यटन क्षेत्र प्रभावित भएको नेपाल एसोसिएसन टुर एन्ड ट्राभल एजेन्टस् (नाटा)का कोशी प्रदेशका निवत्र्तमान अध्यक्ष उदयकुमार श्रेष्ठ बताउनुहुन्छ । कोरोनाको बन्दाबन्दीयता काँकडभिट्टा नाकाबाट भूटानी नागरिकहरु मात्र पर्यटकको रुपमा नेपाल आइरहेका छन् ।

भारतीय नाका पानीटंकीको अध्यागमन कार्यालयले पर्यटकलाई नेपाल प्रवेश गर्ने अनुमति नदिएको हो । भारतको पश्चिम बंगाल राज्यको अध्यागमन जाँचचौकी सीमावर्ती पानीटंकी बजारको रानीगन्जमा रहेको छ । भारतले यस नाकाबाट भूटानी, बंगलादेश पढ्न जाने नेपाली विद्यार्थी र प्रवासी भारतीय नागरिक प्रमाणपत्र (ओसीआई) भएका विदेशी पर्यटकलाई मात्र नेपाल जाने अनुमति दिने गरेको श्रेष्ठले बताउनुभयो ।

पूर्वीनाका हुँदै नेपाल प्रवेश गर्ने तेस्रो मुलुक तथा बंगलादेशी पर्यटकको आवतजावत बन्द हुँदा कोशी प्रदेशको पर्यटन क्षेत्रमा क्षति पुगेको उहाँ बताउनुहुन्छ ।