८ कार्तिक २०८१, बिहिवार

आज पहाडमा होली, भोलि मधेशमा

११ चैत २०८०, आइतवार
Image

झापा, ११ चैत । सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।

फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिदैन नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन् ।

हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ ।

नेपालको संस्कृतिका जानकार धिरेन्द्र प्रेमर्षिले होलीपर्वले समाजमा असमानता र विभेद मेटाउन सांस्कृतिक भूमिका खेलेको बताउनुभयो । “होली खेल्दा न जात हेरिन्छ, न धनी–गरिब”, उहाँ भन्नुहुन्छ, “सद्भावको प्रतिविम्ब यो पर्व सभ्य र भव्य छ ।”