१० मंसिर २०८१, सोमवार

इच्छा विपरीत रङ दलेमा उजुरी गर्न प्रहरीको आग्रह

१२ चैत २०८०, सोमवार
Image

झापा, १२ चैत । होली पर्व मनाउने बहानामा इच्छा विपरीत कसैले रङ दलेमा उजुरी गर्न झापा जिल्ला कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै उक्त आग्रह गरेको हो । “इच्छा नभएका र अलग उद्देश्य लिएर काममा हिँडेका व्यक्तिहरुलाई जथाभावी रङ दल्ने र फोहोर पानीको लोला हान्ने कार्य गैरकानूनी हुन्छ,” प्रहरीले जारी गरेको सूचनामा भनिएको छ–“कानून विपरीत कार्य गरे गराए प्रचलित कानून बमोजिम कार्वाही हुन्छ ।”

महिला तथा अपरिचित व्यक्तिहरुसँग मञ्जुरीबिना जबर्जस्ती होली नखेल्न र बालबालिकालाई लोला हान्ने कार्यमा प्रयोग नगराउन अनुरोध गर्दै प्रहरीले सर्वसाधारणलाई ११ बुँदे आग्रह गरेको छ ।

घरको छतमा बसेर होली खेल्दा बिगतमा कतिपय व्यक्तिको लडेर मृत्यु भएको घटना स्मरण गराउँदै प्रहरीले मदिरा र नशालु पदार्थ सेवन गरेर सवारी नचलाउन सचेत गराएको छ ।

झापा लगायतका तराईका जिल्लामा सोमवार होली पर्व धुमधामका साथ मनाइँदैछ । पहाडी र उपत्यकामा आजै होली उल्लासपूर्वक मनाइएको छ । झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले प्रहरीका स्थानीय इकाईहरुले सहर बजारमा सभ्य ढंगले होली मनाउन सर्वसाधारणलाई आग्रह गर्दै माइकिङ समेत गरेको बताउनुभयो ।