१५ वैशाख २०८१, शनिवार

होलीमा नियम मिच्ने ३५८ सवारी साधनसहित छ जना पक्राउ

१३ चैत २०८०, मङ्गलवार
Image

झापा, १२ चैत । होली पर्व मनाउने क्रममा सवारी नियम उल्लंघन गर्ने ३५८ वटा सवारी साधनसहित अमर्यादित गतिविधि गर्ने ६ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमा ३४७ वटा मोटरसाइकल र स्कुटी, १० वटा तीन पाङ्ग्रे र एउटा चार पाङ्ग्रे रहेका छन् ।

जिल्लाका विभिन्न स्थानमा सवारी साधन चेकजाँच र होली पर्वलक्षित सुरक्षाका लागि पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रहरीले विर्तामोड, मेचीनगर, भद्रपुर लगायतका मुख्य सहरी क्षेत्रमा सवारी नियम उल्लंघन गर्ने साधनहरुको कडा निगरानी गरेको थियो ।

होली पर्व मनाउने बहानामा इच्छा विपरीत कसैले रङ दलेमा उजुरी गर्न झापा जिल्ला कार्यालयले यसअघि सर्वसाधारणलाई सार्वजनिक आग्रह समेत गरेको थियो ।

“इच्छा नभएका र अलग उद्देश्य लिएर काममा हिँडेका व्यक्तिहरुलाई जथाभावी रङ दल्ने र फोहोर पानीको लोला हान्ने कार्य गैरकानूनी हुन्छ,” प्रहरीले होलीलाई मर्यादित रुपमा मनाउन जारी गरेको ११ बुँदे सूचनामा उल्लेख थियो । महिला तथा अपरिचित व्यक्तिहरुसँग मञ्जुरीबिना जबर्जस्ती होली नखेल्न र बालबालिकालाई लोला हान्ने कार्यमा प्रयोग नगराउन समेत प्रहरीले अनुरोध गरेको थियो । 

झापा लगायतका तराईका जिल्लामा आज होली पर्व धुमधामका साथ मनाइएको छ । दमक, विर्तामोड र मेचीनगरमा युवाहरुले होलीको अवसर पारेर सांगीतिक कार्यक्रमको समेत आयोजना गरेका छन् ।

नहरमा डुबेर मृत्यु

यसैबीच, होली खेलेर नुहाउन गएका शिवसताक्षी नगरपालिका वडा नं. ११ का १५ वर्षीय रविन श्रेष्ठको कनकाई नहरमा डुबेर मृत्यु भएको छ ।

श्रेष्ठलाई नहरको साइफनमा फलाममा अड्किएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालले जनाएको छ । इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले साइफनबाट शब झिकेको थियो ।