१५ वैशाख २०८१, शनिवार

गिरीलाई अध्यक्ष बनाउने सहमति भएको दावी, ढुंगेलले भने–‘थाहा छैन’

१५ चैत २०८०, बिहिवार
Image

झापा, १५ चैत । नेकपा एमाले झापाको नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास निर्णय नजिक पुगेको बताइएको छ ।

आज सुरु हुने ११ औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयन हुने कार्यक्रम भएकाले सहमतिमै मुख्य पदहरु टुंग्याउन अगुवा नेताहरु लागेका हुन् ।

अध्यक्ष पदका लागि कार्यवाहक अध्यक्ष प्रेम गिरी र सचिव शिव ढुंगेलको दावी रहेकोमा गिरीलाई अध्यक्ष बनाउने सहमति भएको गिरी पक्षीय एक नेताले दावी गर्नुभयो ।

‘अध्यक्षमा प्रेम गिरी र सचिवमा तुलसी कार्की भन्ने सहमति भएको छ,’ ती नेताले भन्नुभयो–‘अरु पदमा कुरो मिलिसकेको छैन । हेरौं भरेसम्ममा एउटा प्रष्ट हुनसक्छ ।’

तर, अध्यक्षका दावेदार नेता शिव ढुंगेलले आफुसँग कुनै सहमति नभएको बताउनुभयो । ‘मैले नेतृत्वमा जाने कुरा सबैलाई भन्दै आएकै छु,’ उहाँले भन्नुभयो–‘कहाँ, कसले र कसरी सहमति गरेको हो, त्यो मलाई थाहा भएन ।’