१५ वैशाख २०८१, शनिवार

एमाले निर्वाचन

शनिवार उम्मेद्वारी दर्ता, आइतवार मतदान

१६ चैत २०८०, शुक्रवार
Image

झापा, १६ चैत । नेकपा एमाले झापाको पदाधिकारी, सदस्य तथा लेखा समितिका लागि उम्मेद्वारको मनोनयन शनिवार सुरु हुने भएको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विहीवार विर्तामोडको अग्रसेन भवनमा उद्घाटन गर्नु भएको ११ औं जिल्ला अधिवेशनमा शुक्रवार बन्द सत्र सुरु भएको छ ।

निर्वाचन समितिका सदस्य दिपेन्द्र भट्टराईका अनुसार शुक्रवार मतदाता नामावली प्रकाशन भएको छ भने शनिवार उम्मेद्वारको मनोनयन र आइतवार मतदान कार्यक्रम तय भएको छ ।

शनिवार विहान ९ देखि १० बजेसम्म उम्मेद्वारको दरखास्त फाराम वितरण, साढे १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता, ४ बजे उम्मेद्वारको प्रारम्भिक सूची प्रकाशन, ५ बजेसम्म विरोधमा उजुरी दिन पाइने, ६ बजे उम्मेद्वारको पुनः सूची प्रकाशन, बेलुका साढे ८ बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिन पाउने र बेलुकी ९ बजे उम्मेद्वारको फाइनल सूची प्रकाशित गरिने उहाँले जानकारी दिनुभयो ।

आइतवार विहान ७ देखि दिउँसो २ बजेसम्म मतदान गर्ने कार्यक्रम तय भएको र मतदान सकिए लगत्तै मतगणना सुरु हुने उहाँले बताउनुभयो ।

मतदानस्थल अग्रसेन भवनमै रहने र मतगणना भने जिल्ला पार्टी कार्यालयमा हुने भएको छ ।

मुख्य पदाधिकारी सहमतिमा चयन हुने पार्टीका नेताहरुले सार्वजनिक रुपमै बताउने गरेका छन् । पार्टीका जिल्ला इञ्चार्ज विशाल भट्टराईले ‘अधिवेशन प्रेमपूर्वक सहमतिमा सम्पन्न हुने उच्च तहमा सल्लाह’ भएको संकेत उद्घाटन सत्रमा मन्तब्यको क्रममै बताइसक्नु भएको छ ।

प्रेम गिरी ।

उहाँले जिल्ला अध्यक्षमा प्रेम गिरीलाई सर्वसम्मत बनाउन पहल गरिएको संकेत गर्नुभएको हो । तर, अध्यक्षका अर्का आकांक्षी शिव ढुंगेलले आफ्नो नाममा सहमति हुनुपर्ने अडान छाड्नु भएको छैन ।

उच्च नेतृत्वले प्रेम गिरीलाई अध्यक्ष बनाउनु पर्ने संकेत गरेका कारण ढुंगेलले बाकस थाप्ने हदसम्म अगाडि बढ्ने सम्भावना नरहेको पार्टी नेताहरु बताउँछन् ।

‘शिव कमरेडले सबै कुरा बुझ्नु भएकै छ,’ एक नेता भन्नुहुन्छ–‘उहाँ उम्मेद्वारको मनोनयन दर्तासम्म गर्न अघि बढ्नुहोला, त्यसपछि नाम फिर्ता लिने त अवसर छँदैछ । तथापि मनोनयनसम्म पनि उहाँ जानुहुन्छ जस्तो मलाई लागेको छैन ।’

अध्यक्ष पदका आकांक्षी गिरी र ढुंगेल दुबै पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीका निकटस्थ हुनुहुन्छ । गिरी भूगोल र संसदीय फाँटबाट राजनीतिमा अघि बढ्नु भएको लोकप्रिय नेता हो भने ढुंगेल विद्यार्थी राजनीतिबाट उदाउनु भएको परिपक्व युवा नेताको रुपमा स्थापित हुनुहुन्छ ।