१५ वैशाख २०८१, शनिवार

विपन्न महिलाको मिटरब्याजी ऋण मिनाहा गर्ने मन्त्रीको आश्वासन

१६ चैत २०८०, शुक्रवार
Image

झापा, १६ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाहरुको मिटर ब्याजलगायतका ऋणहरु मिनाहा गर्ने कार्यक्रम ल्याउने बताएकी छन् ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले वडास्तरबाट विपन्न महिलाहरुको पहिचान गरी उनीहरुको मिटरब्याजलगायतका ऋण मिनाहा हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउन लागेको बताएकी हुन् ।

‘अति विपन्न महिलाहरुको लागि चाहिँ वडास्तरबाटै मिटरब्याज लगायतका कुराहरु आउँछन् । ती ऋणहरु मिनाहा गरिदिने कुराहरु आउँछन् । राज्यले नै त्यस्ता कुराहरु गर्‍यो भने महिलाहरु अगाडि बढ्न सक्छन् भनेर मन्त्रालयबाट त्यो कार्यक्रम ल्याउँदैछौं भन्ने कुरा जानकारी गराउन चाहन्छु’, मन्त्री चौधरीले भनिन् ।

उनले महिला मन्त्रालयमा बजेटको अभावका कारण सोचेअनुसार काम गर्नसक्ने स्थिति नभएको पनि बताइन् । मन्त्री चौधरीले जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगेटको महिला मन्त्रालयको लागि बजेट बढाउन प्रधानमन्त्री पनि सकारात्मक रहेको धारणा राखिन् ।

मन्त्री चौधरीले महिलाहरुको सशक्तिकरणका लागि बजेट बढाउनका लागि सम्बन्धित मन्त्रालयहरुबीच छलफल भइरहेको पनि बताइन् ।