१९ वैशाख २०८१, बुधवार

उपचारको पर्खाइमा पत्रकार सञ्जय

२६ चैत २०८०, सोमवार
Image

मेचीनगर, २६ चैत । अनुहारमा मासु पलाएका झापाका पत्रकार सञ्जय भट्टराईको उपचारमा आर्थिक अभाव भएको छ ।

इलामको सूर्योदय–७ गोगने घर भएका २३ वर्षीय भट्टराई अर्जुनधाराको मेरो रेडियोमा समाचार बाचक र कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत हुनुहुन्छ ।

विर्तामोडको मनकामना कलेजमा स्नातक तह प्रथम वर्षमा पत्रकारिता अध्ययन गरिरहनु भएको उहाँको दाहिने गाला, कान र चिउडोमा मासुको ठूलो लुर्को पलाएको छ । 

डेरामा बसेर अध्ययन र पत्रकारितालाई सँगसँगै अघि बढाइरहनु भएको उहाँले मासुले अनुहार ढाकेका कारण हिँडडुल गर्न र खान समस्या भइरहेको छ भने कान र दाहिने आँखामा पनि समस्या भएको बताउनुभयो । 

मासु पलाउने समस्या जन्मजात भएको जनाउँदै पत्रकार भट्टराईले धरानको वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान र विर्तामोडको बीएन्डसी हस्पिटलमा जचाउँदा चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएको बताउनुभयो ।

उपचारका लागि आर्थिक अभाव भएको उहाँले बताउनुभयो । अरु मान्छे जस्तै हुन इच्छा भएको र रुपकै कारण धेरै कुरा गुमाएको बताउने भट्टराईले उपचारका लागि पहल गरिदिन अपिल गर्नु भएको छ ।    

हाम्रो अभियान नेपालका संयोजक नरेश मोहोराले उहाँको उपचारका लागि इजी केयर फाउन्डेसनमार्फत शुष्मा मेमोरियल अस्पताल काठमाडौंमा पहल भइरहेको बताउनुभयो ।

भविष्यमा असल पत्रकार बनेर समाजसेवा गर्ने सपना साँच्नु भएको उहाँको बुवाआमा सामान्य कृषक हुनुहुन्छ भने एउटा भाइ वैदेशिक रोजगारीको सिलसिलामा मालद्विपमा छन् ।