२१ वैशाख २०८१, शुक्रवार

झापामा मकैको व्यवसायिक खेती बढ्दै

२७ चैत २०८०, मङ्गलवार
Image

झापा, २७ चैत । जिल्लाकै सबैभन्दा बढी मकै खेती हुने पालिकाको रुपमा झापा गाउँपालिका रहेको छ । 

पालिकाका किसानहरुले मकै खेतीबाट राम्रो आम्दानी गर्न थालेपछि बर्षेनी मकै खेती गर्ने किसानको संख्या सो क्षेत्रमा बढिरहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ । 

कार्यालयका सूचना अधिकारी चेतननाथ भण्डारीका अनुसार आर्थिक बर्ष २०७९÷०८० मा जिल्लामा ४४ हजार २५० हेक्टर जमिनमा मकैको व्यावसायिक खेती गरिएको थियो । जसबाट जिल्लामा दुई लाख २५ हजार ६७५ मेट्रिकटन मकै उत्पादन भएको थियो । गतबर्ष केन्द्रले किसानलाई ब्लक, पकेट क्षेत्रमार्फत अनुदान उपलब्ध गराएर मकै खेतीको विस्तार र प्रवद्र्धन गरेको उहाँको भनाई छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पाँच सय हेक्टर जमिनमा झापा गाउँपालिका र कनकाई नगरपालिकामा मकै जोन कार्यक्रम सञ्चालन भइरहेको छ ।

झापा गाउँपालिकाले मकै, धान र तरकारी खेती गर्ने किसानहरुलाई सिंचाईमा लाग्ने विद्युत महसूल वापत ६० प्रतिशत रकम आफैं भूक्तानी गर्दै आएको छ । यस पालिकाको सात हेक्टर जमिनमा उन्नत जातको मकै खेती हुँदै आएको पालिकाकी कार्यवाहक अध्यक्ष अन्जु थपलियाले बताउनुभयो ।

उहाँले मकैको पकेट, ब्लक क्षेत्र घोषणा गरेरै मकैको व्यवसायिक खेतीमा पालिकाले प्रवद्र्धन गरिरहेको बताउनुभयो । उहाँले कृषि शाखामार्फत किसानलाई मकै खेतीका लागि आकर्षित गर्न आवश्यक मल, बीउ, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, स्प्रे ट्याङ्की, मकै सुकाउने झुल र सिँचाइको लागि मोटर अनुदान अनुदानमा प्रदान गरिरहेको जानकारी दिनुभयो ।

“पालिकाभित्र बाझो जमिन देखिन छाडेको छ”, उहाँले भन्नुभयो, “किसान उत्साहित छन् कतै मकै पाक्न थालेको छ कतै हुर्किरहेको देखिन्छ ।” ज्ञान केन्द्रका सूचना अधिकारी भण्डारीले चालु आर्थिक बर्षमा गतबर्षको तुलनामा मकै खेतीको विस्तार बढेको जानकारी दिनुभयो ।