१८ वैशाख २०८१, मङ्गलवार

व्यवस्था बदल्न चाहनेले संसद्मा दुई तिहाई पुर्याउनु : सञ्चारमन्त्री शर्मा

२८ चैत २०८०, बुधवार
Image

झापा, २८ चैत । सञ्चारमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताउनु भएको छ ।

आज विर्तामोडमा प्रेस सेन्टर नेपालको झापा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले संविधानको व्यवस्थामा कुनै परिवर्तन गर्न मन लाग्नेले संसद्मा दुई तिहाई बहुमत पुर्याउँदा हुने बताउनुभयो ।

विपक्षी राजनीतिक दल राप्रपाले मंगलवार राजधानीमा गरेको प्रदर्शनमा सरकारले दमन गरेको र सांसद्लाई समेत प्रहरीले पिटेको विषयमा सोधिएको प्रश्नको जवाफमा उहाँले उक्त धारणा व्यक्त गर्नु भएको हो ।

‘राजतन्त्रको पक्षमा सरकार छैन, नेपाली जनता छैनन्,’ उहाँले भन्नुभयो–‘अहिलेको गणतन्त्रमा राजतन्त्रको माग गर्न रोक लगाइएको छैन । तर, कानून तोड्न र अराजकता मच्चाउन भने पाइँदैन । कसैले निषेधाज्ञा तोड्न खोज्छ भने जुनसुकै पदमा भए पनि कानून बमोजिम कार्वाही हुन्छ ।’

सञ्चारमन्त्री शर्माले इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा विचार मिल्ने राजनीतिक शक्ति एमालेसँगको नयाँ सहकार्यका लागि नेकपा माओबादी केन्द्रले आफ्नो उम्मेद्वार मैदानमा नउठाएको बताउनुभयो ।

सरकार नतिजा निस्कने गरी काम गर्ने पक्षमा लागिरहेका हुँदा सबैबाट सकारात्मक सहयोगको उहाँले अपेक्षा गरिएको बताउनुभयो ।

प्रेस सेन्टर नेपालको झापा अध्यक्ष राजु पाठकको अध्यक्षतामा सिटी सेन्टरको ह्याप्पी रेस्टुरेन्टमा पत्रकार सम्मेलन भएको थियो ।