१९ वैशाख २०८१, बुधवार

रोशन र त्रिशा उत्कृष्ट खेलाडी, समदर्शी उत्कृट पत्रकार

३० चैत २०८०, शुक्रवार
Image

मेचनिगर, ३० चैत । नेपाल खेलकुद पत्रकार मञ्च झापाले महिला बक्सिङकी त्रिशा जबेगु र तेक्वान्दोका रोशन मगरलाई ‘वर्ष उत्कृष्ट खेलाडी’को सम्मान प्रदान गरेको छ ।

वि.सं. २०७९ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा प्रदर्शन गरेको खेल कौशलका आधारमा बिहीबार विर्तामोडमा आयोजित ‘पाँचौँ स्पोर्टस् अवार्ड’ कार्यक्रममा मञ्चले खेलाडीद्वयलाई उत्कृष्ट खेलाडीको सम्मान गरेको हो ।

वर्ष उत्कृष्ट खेलाडी घोषित दुबैले जनही नगद रु. एक लाख, ट्रफी र उपहार प्रात गर्नु भएको छ । सोही अवसरमा मञ्चले नेपालकी प्रथम ओलम्पियन धावक मेनुका राउतलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरेको छ । उहाँलाई नगद रु. ५० हजार, ट्रफी र उपहार प्रदान गरिएको थियो ।

पत्रकारिताको माध्यमबाट खेल क्षेत्रको विकासमा योगदान पुर्याए वापत मञ्चले पत्रकार रमेश समदर्शीलाई ‘उत्कृष्ट खेल पत्रकार’को सम्मान प्रदान गरेको छ । उहाँलाई सम्मानस्वरुप नगद रु. ३५ हजार र ट्रफी दिइएको थियो ।

फिफा रेफ्री श्याम दनुवारलाई ‘स्पेसल अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ उहाँलाई नगद रु. २५ हजार र ट्रफीले सम्मान गरिएको हो ।

वि.सं. २०७९ मा गरेको प्रदर्शनको आधारमा ‘वर्ष उत्कृष्ट युवा खेलाडी’को रुपमा पौडीका प्रारम्भ भण्डारी, पिपुल्स च्वाइस अवार्डबाट क्रिकेटकी राष्ट्रिय खेलाडी रुविना क्षेत्री र वर्ष उत्कृष्ट प्रशिक्षकमा बक्सिङका डम्बर लिम्बुलाई सम्मानित गरिएको छ । उहाँहरुलाई जनही रु. २५ हजार नगद र ट्रफी प्रदान गरिएको थियो ।

नेपाल खेलकुद पत्रकार मञ्चल झापाले वि.सं. २०७३ सालदेखि जिल्लामा ‘झापा स्पोट्र्स अवार्ड’ वितरण गर्न थालेको हो । योपटक पाँचौँ संस्करण हो । 

मञ्चका झापा अध्यक्ष इन्दैजित मुखियाले स्पोर्टस् अवार्डलाई आगामी दिनमा थप विस्तार र निरन्तरता दिइने बताउनुभएको छ ।