२० वैशाख २०८१, बिहिवार

झापाको ‘पत्रकार उपचार कोष’मा रु. एक करोड

३ वैशाख २०८१, सोमवार
Image

झापा, ३ बैशाख  नेपाल पत्रकार महासंघ झापाले ‘उपचार कोष’को राशी रुं एक करोड पुर्याएको छ । ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको यसको स्थापना आठ वर्ष अघि भएको थियो । 

आज विर्तामोडमा एक समारोहबीच कोषमा एक करोड पुगेको घोषणासहित कोषका दाताहरुलाई संस्थापक सम्मान दिइने भएको छ ।

उक्त समारोहमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव प्रमुख अतिथि हुनुहुन्छ । 

नागरिकको सूचनाको हक प्रत्याभूतिका लागि जोखिम मोलेर अहोरात्र खटिने पत्रकारहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्यले वि.सं. २०७३ पुस १६ गते पत्रकार महासंघको तत्कालीन अध्यक्ष भीम नेम्बाङको पालामा कोष घोषणा गरिएको नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले बताउनुभयो ।

महासंघको आफ्नै कोषबाट रु. चार लाख र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको रु. पाँच लाख जम्मा गरेर उपचार कोष स्थापना गरिएको थियो । उक्त कोषमा अहिले रु. एक करोड जम्मा भइसकेको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

समाचार संकलनको क्रममा हुने दुर्घटनामा घाइते र रोग लागेर बिरामी हुने झापाका पत्रकारहरुलाई कोषले उपचारका लागि नगदै सहयोग दिदै आएको छ । कोषमा पत्रकारहरुले जनही रु. तीन हजार जम्मा गरेका छन् भने अधिकांश रकम दाताले दिएका हुन् ।

“अधिकांश पत्रकारहरु कमजोर आर्थिक पृष्ठभूमिबाट पत्रकारिता पेशामा आएका हुन्छन्,” नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तारामणि सापकोटा भन्नुहुन्छ–“पारिश्रमिक पनि न्यून हुने भएकाले बिरामी हुँदा उपचारमा जहिल्यै अभाव हुने गरेको देखेपछि उपचार कोष स्थापनाको सोच अघि बढाइएको हो ।”

झापामा हाल दुईसय भन्दा बढी पत्रकारहरु क्रियाशील छन् । दैनिक, साप्ताहिक र वार्षिक पत्रिकाहरु प्रकाशित भइरहेका छन् भने टेलिभिजन, रेडियो र अनलाइन सञ्चारमाध्यमहरु सञ्चालनमा छन् ।

कोषको व्यवस्थित सञ्चालनका लागि कार्यविधि निर्माण गरिएको छ भने कोष वृद्धिका लागि समिति गठन गरिएको थियो । कोषको साँवा रकम खर्च गर्न नमिल्ने गरी अक्षयकोषमा राखिएको छ । त्यसको ब्याजबाट प्राप्त हुने रकमबाट पत्रकारहरुको उपचारमा खर्च हुँदै आएको छ ।

कोषको सहयोगमा जिल्लाका थुप्रै पत्रकारले दुर्घटना हुँदा र बिरामी पर्दा उपचार सहयोग पाइसकेका छन् । झापामा प्रेस चौतारी नेपालको शाखाले समेत ‘पत्रकार उपचार कोष’ स्थापना गरेको छ ।