१८ वैशाख २०८१, मङ्गलवार

सानातिना घटनाले सत्ता समीकरणमा दरार आउँदैन : ओली

४ वैशाख २०८१, मङ्गलवार
Image

झापा, ४ चैत । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले सत्ता समीकरणमा कुनै दरार नआउने बताउनु भएको छ ।

आज झापाको कनकाईमा आयोजित नेकपा एमाले झापाको प्रथम पूर्ण बैठकमा बोल्दै उहाँले अहिले मुलुकमा देशभक्त राजनीतिक शक्तिहरुको समीकरण बनेको हुँदा यसलाई एमालेले जुनसुकै हालतमा टिकाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“हामीले पुरानो गठबन्धन भत्काउनै पथ्र्यो, भत्कायौं,” अध्यक्ष ओलीले भन्नुभयो–“ नयाँ समीकरण बनाउनै पथ्र्यो, बनायौं । धेरैले अर्थ मन्त्रालय छाडिदियो, गृह मन्त्रालय पनि छाडिदियो भने । कुन मन्त्रालय लियो र कुन लिएन भन्ने महत्त्वको विषय होइन, हाम्रो सरकार छ भन्ने कुरा महत्त्वपूर्ण हो । अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो ।”

उहाँले देशभक्तहरुको समीकरण भत्काउनका लागि देशी विदेशी शक्तिहरुले निरन्तर षडयन्त्र गरिरहेको दावी गर्नुभयो । लामो राजनीतिक अनुभव र जिम्मेवार अभिभावक शक्तिको कारण नेकपा एमालेले अहिलेको सत्ता समीकरणलाई देश र जनताको हितमा अघि बढाउने उहाँको भनाई छ ।  

उहाँले अहिलेको सत्ता समीकरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साहसिक निर्णय लिएको बताउनु भयो । एमालेले घोषणा गरेको ‘मिसन–८४’ राजनीतिक सुझबुझपूर्ण गन्तब्य भएको जनाउँदै उहाँले देश र जनताको हितका लागि पार्टीले चुनाव जित्न जरुरी भएको धारणा समेत व्यक्त गर्नुभयो ।