१९ वैशाख २०८१, बुधवार

धाइजनको जंगलभित्र दाह्रा चोरिएको मृत हात्ती भेटियो

४ वैशाख २०८१, मङ्गलवार
Image

फोटो  : देबेन्द्र खरेल

मेचीनगर, ४ वैशाख । धाइजन जंगलमा एउटा बयस्क भाले हात्ती मृत मरेको भेटिएको छ ।

चरा तथा बन्यजन्तु संरक्षण समाजका अध्यक्ष देबेन्द्र खरेलले आज साँझ मेचीनगर–१२ को कालिका सामुदायिक बनभित्र मृत अवस्थामा भेटिएको उक्त हात्ती एक दिन अगाडि नै हात्ती मरेको हुनसक्ने बताउनुभयो ।

संरक्षणकर्मी खरेल र शंकर लुइँटेलले घटनास्थलमै पुगेर मरेको हात्तीको फोटो संकलन गर्नु भएको छ । 

करीव ४५ वर्ष उमेरको उक्त हात्तीको दुईवटै दाह्रा धारिलो हतियारले काटेर लगेको देखिएको खरेलले बताउनुभयो । मरेको हात्तीको पुच्छरको रौं पनि उखेलेर लगेको पाइएको उहाँले जानकारी दिनुभयो ।

‘हामी जंगलमै पुगेर हेरेर आयौं,’ खरेलले भन्नुभयो–‘दाह्रा फेदमै धारिलो हतियारले काटेर लगेको पाइएको हुँदा यस घटनामा बन्यजन्तुका अंग चोरी गर्ने गिरोह सक्रिय भएको हुनसक्ने आशंका गर्न सकिन्छ ।’

हात्तीको शरीर सड्न थालेको समेत उहाँले जानकारी दिनुभयो । घटनास्थलमा बन कार्यालय र प्रहरी सुरक्षाकर्मी नदेखेको खरेलले जानकारी दिनुभयो ।