२१ वैशाख २०८१, शुक्रवार

भारतले रोक्यो नेपाली चियाको निर्यात

७ वैशाख २०८१, शुक्रवार
Image

झापा, ७ चैत । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्राबधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर संकट निम्तिने बताएका छन् । 

पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया भारतले आज रोकेको हो । चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीटङ्कीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवम् भन्सार एजेन्ट रोशन अग्रवालले जानकारी दिनुभयो ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै त्यसलाई खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको बताउनुभयो ।

भारतीय नाकामा नेपाली चिया रोकिएको जानकारी आएपछि पानीटंकी स्थल भन्सार कार्यालयका समकक्षीसँग आजै भेटेर समस्या समाधानका लागि आग्रह गरेको भन्सार प्रमुख रेग्मीले बताउनुभयो ।

मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले नेपाली चियाको निर्यात रोक्न भारत सरकारले गुणस्तर परीक्षणको नयाँ बखेडा झिकेको बताउनुभयो । तत्काल यसको समाधान नखोजिए नेपाली चिया उद्योग संकटमा फँस्ने उहाँको भनाई छ ।

चिया व्यवसायी एवम् भन्सार एजेन्ट अग्रवालका अनुसार पानीटङ्कीस्थित भारतीय स्थल भन्सार कार्यालयले हरेक ट्रकमा रहेको नेपाली चियाको अलग अलग गुणस्तर परीक्षण गरिनु पर्ने नयाँ नियम लगाएर निर्यातमा रोक लगाएको हो ।

“यसअघि एउटा कम्पनीले एउटा नमुनाको गुणस्तर जाँचपास गराएको रिपोर्टले १५ दिनसम्म जति गाडी चिया निर्यात गर्दा पनि मान्यता पाउँथ्यो,” व्यवसायी अग्रवालले भन्नुभयो–“अहिले पानीटङ्कीको भारतीय भन्सारले हरेक गाडीको छुट्टाछुट्टै नमुनाको गुणस्तर जाँचपास रिपोर्ट ल्याउनु पर्ने अड्को थापेको छ ।”

भारतीय पानीटङ्की भन्सारमा गोदामको सुविधा नभएको हुँदा नेपालबाट चिया लोड भएर गएका १७ वटै ट्रक खुला सडकमा अलपत्र रहेको उहाँले बताउनुभयो ।

सडकमा अलपत्र अवस्थामा त्रिपालले छोपेर चिया राखिएको ट्रकमा राति चोरी र लुटपाट हुनसक्ने जोखिम रहेको उहाँले बताउनुभयो । अलपत्र ट्रकहरुमध्ये नेपाल चिया विकास निगमको छ वटा ट्रक छन् भने अन्य सामान हिमालयन रेञ्ज लगायतका चिया उद्योगको हुन् ।

सीटीसी र अर्थोडक्स गरी दुबै प्रकारका चिया भारत निर्यात हुँदै आएको छ । नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ । निर्यात हुने चियाको ९२ प्रतिशत काँकडभिट्टा नाका भएर भारत जाने गरेको छ ।

चिया व्यवसायीहरुका अनुसार भारतले नेपालमा गरिएको गुणस्तर जाँचको रिपोर्टलाई मान्यता दिएको छैन । भारतको पानीटङ्की भन्सारमा समेत गुणस्तर जाँच्ने प्रयोगशाला छैन । भारतको कोलकाता, दिल्ली, पटना लगायतका स्थानका प्रयोगशालामा गरिएको गुणस्तर जाँचपासलाई मात्र भारतीय भन्सारले मान्यता दिने भएको हुँदा यसबाट नेपाली चिया निर्यातमा संलग्न व्यवसायीहरुले बिगतदेखि नै झञ्झट भोग्नु परिरहेको छ ।